
काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा मंगलबारदेखि शुरु भएको ‘महिला चलचित्र महोत्सव’ बिहीबार सम्पन्न भएको छ।
‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलबारदेखि सुरु भएको महोत्सव बिहीबार विभिन्न कलाकारहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो।
महिला चलचित्र महोत्सवको पहिलो दिन चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो।
कार्यक्रमको दोस्रो दिन बुधबार महिला चलचित्रकर्मीद्धारा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन गरिएका थिए भने बिहीबार आज महिला चलचित्रकर्मीहरुलाई सम्मान गरिएको हो।