जनकपुर। नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलन्यास गरेका छन्। बुधवार जनकपुरधाम उपमहागरपालिका वडा नं.२५ लोहनामा आयोजित शिलन्यास समारोहमा महासेठले चक्रपथ सडकको शिलन्यास गरेका हुन्।
३२ किलोमिटर लम्बाई भएको सो चक्रपथ सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपुरा रुपैठा, बसहिया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मिनिया, ठेरा, बेङ्गा शिवपुरलाई जोड्ने छ। पहिलो चरण अन्तर्गत अहिले जम्मा ६ करोड ३० लाख १७ हजार ६ सय ७७ रुपैयाँमा ठेक्का लागेको छ भने सम्पूर्ण निर्माण खर्च ११.३१ करोड रुपैयाँ अनुमान गरिएको छ।
शिलन्यास समारोहमा बोल्दै नेता महासेठले जनकपुरधाम उपमहानगरपालिका आउने दिनमा महानगरपालिका हुने रिंङग रोडको आवश्यकतालाई मध्येनजर गर्दै आफूले भौतिक पूर्वाधार मन्त्री रहेको समयमा चक्रपथ निर्माणका लागि बजेट छुट्टयाउन लगाएको जानकारी दिए।
उनले ०८२÷८३को बजेटमा यस योजनालाई बहुउद्देश्यमा लैजाने गरी काम भइरहेको बताए । मन्त्री महासेठले यो योजना एमाले वा कुनै पार्टीको नभई नेपाल सरकारको रहेको भन्दै जनताकालागि गरिने विकास निर्माणका काममा कसैले पनि अवरोध सृजना नगर्न आग्रह समेत गरे।
शिलन्यास कार्यक्रममा पूर्व मन्त्री जुली महतो, पूर्व मन्त्री अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतको उपस्थिति रहेको थियो।



