काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सिमित स्वार्थ समूहको हितमा काम गरिरहरको बताएका छन्।
प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक पटक स्पष्टिरकण सोध्नु शोभनिय कार्य नभएको बताए।
‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं सरकार देश र जनताको आवश्यकतालाई लत्याउँदै सिमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ’ बस्नेतले भने।
उनले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटकपटक स्पष्टिकरण सोध्ने गरेको बताए। सरकारले दुई तिहाइको बहादुरिता एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए।
नेपाली काँग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशिल चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बताए। व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तका एजेण्डालाई सिमित गर्न लागि परेको बताए ।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाईमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरुले गरेका कारण अहिलेको समस्या देखा परेको बताए । बस्नेतले भने, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेण्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरुले गरेका कारण त्यसको मुल मर्मअनुसार काम हुन सकेको छैन।’
सरकार आफैले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतले बताए। संसद नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भएपनि रातारात अध्यादेश ल्याइएको बताए ।
अर्को प्रसंगमा बोल्दै बस्नेतले आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताए। उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वका सरकारले सुरु गरेको सुशासनको अभियानलाई रोक्न वर्तमान सरकारले लागेको खबरदारी गर्न अभियान सुरु गरिएको बताए । अभियानमा जनताको व्यापक सहभागिता रहेको बताए।



