टिकापुर : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरकाे काम क्रमिक रूपमा अघि बढाउने बताउनुभएकाे छ । कैलालीकाे टिकापुरमा रहेकाे वीरेन्द्र विद्यामन्दीरकाे स्वर्ण महाेत्सवकाे उद्घाटन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटिका रूपमा विकास गर्ने काम अघि बढिसकेकाे भन्दै सरकारले घाेषणा गरेका स्मार्ट सिटि र नयाँ शहरकाे काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताउनुभयाे । त्यस्तै, टिकापुर शैक्षिक शहरका रूपमा विकसित भएकाेमा खुशी व्यक्त गर्दै उहाँले अब शिक्षालाई सीपसँग जाेडनुपर्नेमा जाेड दिनुभयाे ।
उहाँले विद्यार्थीकाे शैक्षिकसँगै उनीहरूकाे रुचिकाे क्षेत्रमा पनि प्रेरित गरेर शिक्षाकाे गुणस्तरसँगै समग्र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गर्नुभयाे । यहाँबाट उत्तिर्ण भएर जाने विद्यार्थीहरूले देशलाई, समाजलाई याेगदान गर्न सक्ने बनाउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे, शैक्षिक सर्टिफिकेटसँगै केही न केही सिपकाे सर्टिफिकेट भयाे भने आगामी दिन सहज हुन्छ । विद्यार्थीकाे समग्र विकासमै अब जाेड दिनुपर्छ ।´
त्यस्तै उहाँले विद्यार्थीहरूले पाठ्यक्रम सँगै राजनीतिक, सामाजिक, आर्थिक विषयमा चासाे राख्नुपर्ने बताउनुभयाे । समाजमा देखिएका बेथितिबारे चासाे राखेर समाधानका लागि पनि विद्यार्थीहरूले याेगदान गर्न भूमिका खेल्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गर्नुभयाे ।
विरेन्द्र विद्या मन्दिरले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाे भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गर्नुभयाे । यहाँ अध्ययन गरेका विद्यार्थीहरूले अहिले विभिन्न क्षेत्रमा याेगदान गरिरहेकाे भन्दै विद्यालयले दिएकाे असल शिक्षाकै कारण त्याे सम्भव भएकाे भन्दै आगामी दिनमा अझ राम्राे गर्न शुभकामना दिनुभयाे ।
स्वरण महाेत्सवका अवसरमा विद्यामन्दीरबाट अध्ययन गरि समाजका विविध क्षेत्रमा याेगदान गरिरहेका व्यक्तित्वहरूलाई सम्मान गरिएकाे थियाे । विद्यामन्दीरका पूर्व विद्यार्थी काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारी, शहरी विकास मन्त्रालयका उपसचिव झपट विश्वकर्मा, वरिष्ठ पत्रकार प्रशान्त अर्याललगायतलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चाैधरी , कांग्रेस नेता रणबहादुर रावललगायतकाे सहभागिता थियाे । आजबाट शुरू भएकाे महाेत्सव ३ दिन चल्नेछ।



