पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गर्न सक्ने बताएका छन्।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको भन्दै यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्ने बताए।

उनले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’

यस्तै, उनले २०८४ को निर्वाचनमा एक्लै जनता सामु जाने भन्दै कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिएका छन्।

उनले भने, ‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु– उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ– तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’

उनले हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएको भन्दै अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको