काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको महत्व बुझाउन इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्नुपर्ने कुरामा जोड दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सरकार एकदुई करोडका लागि गरिब नभएको भन्दै यसवर्ष इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न प्रस्ताव गर्नुपर्ने बताए।
उनले भने, ‘इन्टरनेशनल हुलाक टिकट फेस्टिबल वा एउटा सेमिनार यसपाली गरौं । यसमा के के गर्नुपर्छ प्रस्ताव लिएर आउनुहोला। बजेट कति लाग्छ गरौंला। सरकार एकदुई करोडका लागि गरिब छैन्। सरकार भावना र मनको मात्र गरिब होला। यसपटक यसको आयोजना गरौं।’
यसको साथै उनले अहिले धेरै प्रविधिहरुको विकास भइरहेकाले हुलाक पछाडि परेको भन्दै हुलाकलाई प्रचार गर्ने काममा मन्त्रालय सँधै सकरात्मक रहेको बताए।
उनले भने, ‘आइटी वा धेरै प्रविधिहरुको विकास भयो। त्यसको प्रचारमा पनि हुलाक पछाडि परेको होला। तर हुलाकलाई पनि प्रचार गरेर अगाडि लानुपर्छ। यो काममा मन्त्रालय सधैँ सकारात्मक छ। यही बेला केही न केही गर्न सक्नुपर्छ अनि मात्र यसको विकास हुन्छ र यसमा मन्त्रालय सधैँ साथमा छ।’
हराउँदै गएको परम्परालाई भावी पुस्ताका लागि संरक्षण, प्रवद्र्धन, प्रचार गर्नुपर्ने पनि उनको भनाई छ।



