विद्युतको पहुँच तथा इन्टरनेटको विकास संगै नेपालमा अनलाईनबाट हुने दुर्व्यवहारजन्य अपराधका घटनाहरु बढ्दै गएका छन्। इन्टरनेटको तिव्र विकास संगै सामाजिक संजालका विभिन्न प्लेटफम मार्फत हुने यस्ता घटनाहरुको न्यूनिकरणको लागि डिजिटल शिक्षा आजको आवश्यकता रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन्।

सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा ‘अनलाईन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । भ्वाईस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको कार्यक्रममा अनलाईनबाट हुने दुर्व्यवहारका घटनाहरुको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनिकरणका उपाएको बिषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाका उजुरी आउने गरेको बताउनुभएको छ। उहाँले प्रविधीको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरेपनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकोले सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने उल्लेख गर्नुभयो । उहाँले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरुलगायत पत्रकार समेत अनलाइन हिंसामा परेको सन्दर्भमा रहेको उल्लेख गर्नुभयो । उहाँले प्रविधिको सदुपयोग सम्बन्धमा चनाखो हुँदै हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी पीडकलाई कडा कारवाही गर्नुपर्नेमा जोडदिनुभयो।

आइवर्ट नेपालका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिला पनि प्रभावित हुने क्रम बढेको बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि योगदान दिने पत्रकार नै यस्तो हिंसामा पर्नुले अनलाइन हिंसाको अवस्था भयावह रहेको बताउनुभयो। भ्वोइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको सो तथ्याङ्कले देखाएको र इन्टरनेटको सही प्रयोगबारे जनचेतनामुलक कार्यक्रम र साइबर हिंसा गरे हुने कार्वाही र उजुरी गर्ने निकाय नेपाल प्रहरी साईबर व्यूरोबारे पनि सबैलाई जानकारी गराउँदै जानुपर्ने बताउनुभयो।

आइवर्ट नेपालका उपाध्यक्ष दिपान्जली लामाले “अनलाइन दुव्र्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरी साइबर व्यूरोका अनुसार आर्थिक वर्ष २०८०र८१ मा ६३५ जना बालबालिका र आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बामती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क देखाएको छ।

सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ । जसमध्ये ३८।६० प्रतिशत बालिकालाई र ३२।३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट यौनजन्य सन्देश आएको, ३४ प्रतिसतले अश्लील फोटो र अन्य दुव्र्यवहार हुने भिडियो आउने गरेको उल्लेख छ ।नेपालमा ८१ प्रतिशतभन्दा बढि साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । आर्थिक वर्ष २०८०र८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन्। यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ।

कार्यशालामा साइबर ब्युरो का सावित्रा कार्कीले पछिल्लो समय बढेको साइबर हिंशा का स्वरुप र सचेतनाका उपाय हरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। सोही अवसरमा पत्रकार महासंघका नवनिर्वाचित महिला पदाधिकारीहरुलाई आयोजकले बधाई तथा सम्मान प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको