
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान भएको बताएका छन्।
बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले आदिवासी जनजातिहरुको समग्र विकासको लागि प्राप्त गरेको अधिकारलाई सुरक्षित र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान छ, स्थान छ । जुन अधिकार हामीले प्राप्त गरेका छौं ति अधिकार सित्तैमा आएको होइन। यो अधिकार प्राप्त गर्नको लागि लामो संर्घष गर्नु परेको थियो । तर आदिवासी जनजातिहरुको समग्र विकासको लागि जुन प्राप्त गरेको अधिकारलाई सुरक्षित राख्दै र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने हामीमा जिम्मेवारी आएको छ।’
साथै, उनले हरेक क्षेत्रमा एउटा उदेश्यका साथ काम गर्नुपर्ने बताए । उनले अहिले हामीले प्राप्त गरेको अधिकारलाई तपाईं हामीले नै सुरक्षित नगरे कस्ले गर्ने भन्दै प्रश्न पनि गरे।