सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमा बेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलब निकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ।

प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १० गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवी असाधारण बिदाका लागि निवेदन दिएकी थिइन्। उनको बिदा स्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहित नगरपालिकाको शिक्षा शाखामा पठाइयो। शिक्षा अधिकृत लामाले पनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाई सिरहामा पठाइ दिए। तर बिदा स्वीकृति भएन।

बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरीको अतिथि बनेर अष्ट्रेलिया गइन्। उनी अहिलेसम्म फर्केकी छैनन् । तर प्रधानाध्यापक भरत साहले उनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए। नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो । प्रधानाध्यापक साहले विद्यालयबाट  झाको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमा आफैले हाजिरी गरिदिएका छन्।

शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दै विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना प्रकाशमा आएको हो।

आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएर स्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएका प्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर हाजिरी मेटाएका छन् र गयल जनाइदिएका छन् । तर उनले अपराध लुकाउन गरेको प्रयासले उनलाई झन् उदाङ्गो पारिदिएको छ।

यस सन्र्भमा प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने,‘शिक्षिका झा अष्ट्रेलिया गएकी हुन् र उनको बिदा समेत स्वीकृत भएको छैन ।’ तलब किन र कसरी निकासा भयो भनेर प्रश्न गर्दा, प्रअ साहले यस विषयमा भेटेरै कुरा गर्छु भनेर फोन काटेका थिए।

यता शिक्षा शाखा प्रमुख सुवोध लामासंग प्रश्न गरियो–आफैले असाधारण बिदा स्वीकृतिको लागि सिफारिस गरेको शिक्षिका झाको हाजिरी कसरी रुजु गरियो र किन तलब निकासा दिनुभएको भनेर प्रश्न उर्दा उनले भने,‘ झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रिया थालिएको छ।’ प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगत गर्नुभएको आरोप छ नी भन्दा उनी भडकिए। चर्को स्वरमा बोल्दै उनले भने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस्।’

संविधान सभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यस प्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’ बिमला झाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोध लामाले आफैले सिफारिस गरेका थिए। त्यही शिक्षिकाको हाजिरी प्रमाणित र तलब निकासाको माग आउँदा शिक्षा अधिकृत लामाले कसरी र किन रुजु गरे ? किन तलब निकासा दिए ? यसमा झाको तलब झिकेर प्रधानाध्यापक र शिक्षा अधिकृतले बाँडेर खाने प्रपञ्च रचेको प्रष्ट देखिन्छ।  अझ मेयर श्याम श्रेष्ठको पनि सहमति हुनसक्छ । किनकी शिक्षा अधिकृत लामा मेयर श्रेष्ठको अवैध रकम संकलक बनेका छन् । गोलबजार नगरपालिकाको शिक्षा शाखा भ्रष्टाचारको अड्डा बनेको छ ।

यस विषयमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको प्रतिक्रिया माग्दा उनले भने,‘म फाइल अध्ययन गर्दैछु । दोषी जो भएपनि कारवाही गर्छु ।’ उनले शिक्षा अधिकृत लामाको संलग्नता देखिए उनलाई पनि कारवाहीको दायरामा ल्याउने बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको