बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामूदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ । बुधबार राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो ।

सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामूदायिक बन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरु गरिएको हो। स्थानीयले सामूदायिक बन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको र बाघसँग सचेत हुनुपर्ने बताए । उनले भने,‘बाघ नियन्त्रण गर्ने भन्ने कुरा हँदैन् । यसका लागि आफैं सजग बन्ने हो । हामीले जनचेतनाका कार्यक्रमहरु अघि सारेका छौं।’

बुधबार सोही वडामा रहेको उक्त सामूदायिक बनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशंका गरिएको थियो । भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरे । वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरु भने देखिने गरेको थियो ।

उनले भने,‘स्थानीयबासीहरु निकुन्जमा भएका जनावरहरुले दुःख दिने गरेको गुनासो आइरहेको थियो । जनावरहरु निकुन्जमा मात्र बस्छन भन्ने छैन् , हाम्रो बनमा पनि आएको हुनसक्छ । बाघ वा चितुवाले उहाँलाई आक्रमण गरेको हुनसक्छ ।’यसअघि पनि गाउँलेका १० वटाजति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए । उनले वन क्षेत्रमा हाल क्यामेरा जडान गरिएको जानकारी दिए । ‘बन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुन्जमा बाघको संख्या बढेको पाइन्छ,’ उनले भने । महेन्द्रराजमार्गदेखि एक किलोमिटर पुर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । उक्त बन नजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ ।

घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सब डिभिजन वन कार्यालय बाँके, ईलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरुको सामूहिक उपस्थितिमा घट्नाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ । साथै फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको