कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट पारे।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए। प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए।
उनले भने,‘हामी उठ्न नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ । चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो। हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ।’ प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए ।
कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएस मा उत्तिर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । यसैगरीकुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह (अर्थाेपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरे ।



