
मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ।
तातोपानी नुहाउँदा शरीरमा भएका बिभिन्न अंगहरु ,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगाएतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ। विशेषगरी पुष र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास गर्छन् । तातोपानी नुहाउन बिशुवासमा २० देखि २५ जना मानिस पुग्ने गरेका छन्।
‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ। सन्चो महसुस हुन्छ । पाँच पटकसम्म नुहाएको छु । जति नुहायो त्यतिनै निरोगी भइन्छ। यहाँका स्थानीय तहले बाटो, नुहाउने धारा, कुण्डलगायतमा नुहाइसकेपछि कपडा फेर्ने घर, शौचालय लगायतका पूर्वधारमा व्यवस्था गरिएको भए राम्रो हुनेथियो,’ स्थानीय कृष्ण वोहोराले भने।
तातोपानीमा नुहाउने स्थानको प्रचार प्रसार नभएको पनि स्थानीयको गुनासो छ। प्रचार प्रचार नहुँदा ओझेलमा परेको छ। धेरैजसो मान्छेलाई मुगुको सोरुमा तातोेपानी छ भन्ने नै थाहा छैन् । स्थानीय सरकारले डिपीआर भनेर आठ लाख भन्दा बढी खर्च गरिसक्यो। डिभिजन बन कार्यालयले पाँच लाख र अन्य सरकारी निकाय एवम पर्यटन बिकास समितिमार्फत लाखौं खर्च भइसकेको भएपनि प्रचार नभएको गुनासो छ।
सोरु गाँउपालिका–९ का सर्जन बहादुर शाहीका अनुसार तातोपानी क्षेत्रको प्रचार प्रसार हुनसके पर्यटक बढ्ने र रैथाने बस्तुको विक्री बढ्ने छ। तातोपानीमा बिषेशगरी बुढाबुढी ,महिला, वालवालिकाहरु बढी आउने गरेका छन्।