रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो ६ महिना वित्तीय प्रगति अति न्यून देखिएको छ। नगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा विकास बजेटको ५ प्रतिशत रकम मात्र खर्च गरेको छ। यस आर्थिक वर्षको लागि नगरपालिकाले २५ करोड २१ लाख ६५ हजार रुपैँया विनियोजन गरेकोमा हालसम्म १ करोड २७ लाखमा १ हजार रुपैँया मात्र खर्च भएको छ।

नगरपालिकाको १६ औँ नगर सभापछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रवक्ता समीर कार्कीले दिएको जानकारी अनुसार नगरपालिकाले यस वर्ष चालु तर्फ ५१ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ। चालु तर्फ भने २५ प्रतिशत बजेट खर्च भएको छ। सभाले रामेछाप नगरपालिकाको विनियोजन ऐन २८१ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विनियोजन विधेयक पनि स्वीकृत गरेको छ । योसँगै अघिल्लो नगर सभाले बनाएका कतिपय योजनाको रकमान्तर भएको छ।

सभाले नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यालयको पुनःसंरचना र शिक्षक दर्बन्दि पुनरावलोकन गर्ने निर्णय गरेको छ। बालमैत्री स्थानीय शासन र पोषणमैत्री स्थानीय शासनलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय पनि सभाले गरेको छ। त्यस्त,ै रामेछाप नगरपालिकाको प्रमुख सडकको रूपमा रहेको सेलेघाट–रामेछाप–साँघुटार सडक स्तरोन्नति कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित निकायमा पहल गर्ने निर्णय सभाले गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले पहिलो ६ महिना योजना सम्झौता र काम थालनी गर्ने समय भएको बताउँदै अब योजनाको भुक्तानी दिन थालेपछि वित्तीय प्रगति देखिने बताए। कार्यक्रममा नगरपालिका प्रमुख लबश्री न्यौपानेले दीर्घकालिक लाभ दिने खालका नगरपालिकाका गौरवका आयोजनामा काम सुरु गरिएको जानकारी दिए। नगरपालिकाका हरेक वडामा एक एकवटा गौरवका योजना सुरु गर्ने योजना अनुसार काम सुरु भएको उनले बताए।

नगरपालिकाले प्रत्येक किसानले लाभ पाउने खालका कृषि र पशुका कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै न्यौपानेले स्थानीय सरकारले नागरिकले महसुस गर्ने गरी काम गरिरहेको बताए । आर्थिक विकास नभई अन्य विकासका काम अघि नबढ्ने भएकोले नागरिकको आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको