बर्दिया : नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको १५ औँ महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै हुनुपर्ने बताएका छन् । कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन।’ कांग्रेसमा महाधिवेशन आम निर्वाचन अघि कि पछि भन्ने विषयमा बहस छ ।

त्यस्तै, फरक सन्दर्भमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत रहेको बताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए। ‘‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन्। यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ।’

नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे। जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको