काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार कोइरालाले दिनुभएको शुभकामना सन्देशमा पौष १६ को यो ऐतिहासिक दिनले वीपीको दूरदर्शी सोच र नेपाली जनताको साझा पहिचानको लागि देखाएको दृढता सबैका लागि प्रेरणा बनेको उल्लेख छ । त्यस्तै, उनले ०३३ पुस १६ मा बीपी कोइरालासँग गरेको संवाद अहिले पपिन ताजै रहेको बताएका छन् ।

‘वीपीसँग त्यस समयमा गरेको संवाद आज पनि म भित्र जीवित छ। उहाँले भन्नुभएको थियो ‘राष्ट्रलाई जोगाउन सबैभन्दा पहिलो कदम सहमति र एकता हो। विभाजनले राष्ट्रलाई कमजोर बनाउँछ । उहाँका यी शब्दहरूले मलाई मात्र होइन, सिंगो नेपाली कांग्रेसलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको छ’ , वीपीपुत्र समेत रहनुभएका नेता कोइरालाले भनेका छन् ।

डा.शशांक कोइरालाको शुभकामना सन्देश:

४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
नेपाली कांग्रेसका संस्थापक नेता महामानव, प्रजातान्त्रिक आन्दोलनका महानायक वीपी कोइरालाले २०३३ सालमा राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ ऐतिहासिक निर्णय लिनुभएको थियो। दर्जनौँ मुद्दा, फाँसीको सजायको जोखिम सामना गर्दै वीपीले राष्ट्रिय संकटको समयमा सम्पूर्ण नेपालीबीच एकता र सद्भावको आवश्यकता महसुस गरी मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो।
पौष १६ को यो ऐतिहासिक दिनले वीपीको दूरदर्शी सोच र नेपाली जनताको साझा पहिचानको लागि देखाएको दृढता हामी सबैका लागि प्रेरणा हो ।

उहाँले मेलमिलापको नीति केवल राजनीतिक उद्देश्यका लागि मात्र नभई नेपाली समाज र संस्कृतिको एकताको प्रतीकका रूपमा अगाडि ल्याउनुभएको थियो। यही दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक वर्ष यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। मैले वीपीसँग त्यस समयमा गरेको संवाद आज पनि म भित्र जीवित छ। उहाँले भन्नुभएको थियो ‘राष्ट्रलाई जोगाउन सबैभन्दा पहिलो कदम सहमति र एकता हो। विभाजनले राष्ट्रलाई कमजोर बनाउँछ।’ उहाँका यी शब्दहरूले मलाई मात्र होइन, सिंगो नेपाली कांग्रेसलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको छ।

वर्तमान समयमा नेपालको राजनीतिक, सामाजिक, र आर्थिक चुनौतीहरूको समाधानका लागि वीपीको मेलमिलापको नीति झन् सान्दर्भिक बनेको छ। राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्धामा सहकार्य, जनस्तरमा विश्वास र सद्भावको वातावरण र पार्टी भित्र बलियो एकता अहिलेको प्राथमिक आवश्यकता हो। नेपाली कांग्रेसलाई थप सक्षम, बलियो र मुलुकलाइ दिशा निर्देश गर्न र मुलुकको समस्याको समाधान गर्न तयार बनाउँदा वीपी कोइरालाको नीति हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ।

राष्ट्रिय एकता तथा मेलमिलापका सिद्धान्तलाई पछ्याउँदै हामीले विभाजन र वैमनस्य अन्त्य गर्दै शान्ति र समृद्धितर्फको यात्रामा एकीकृत हुनुपर्नेछ। यस अवसरमा सबै नेपालीलाई सहकार्य, सामूहिकता, र राष्ट्रिय अखण्डताप्रति समर्पित बन्न आह्वान गर्दछु।
जय नेपाल !

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको