काठमाडौं । पूर्व गुण्डानाइके दीपक मनाङे उर्फ राजीव गुरुङ पक्राउ परेका छन् । गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहिसकेका मनाङेलाई
प्रहरीले आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेपनि उनले सर्वोच्च अदालतको पूर्ण पाठ आएपछि मात्र गिरफ्तारी दिने भन्दै फरार थिए ।
दीपक मनाङेको समूहले ०६१ सालमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । सोही मुद्दामा अहिले फैसला हुँदा गण्डकी प्रदेशमा पटक पटक मन्त्री बनेका मनाङे जेल जाने भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । सीआईबी प्रमुख थापाले मनाङेलाई पक्राउ गर्नुको कारणबारे भने, ‘उहाँलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।’
गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

