
बनेपा : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताउनुभएको छ । मंगलबार बनेपा बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसको छैटौँ क्याम्पससभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।
‘इतिहास बिर्सिएर के भविष्यमा केही गर्न सकिएला र ? ’ अहिलेको पुस्तामा इतिहासलाई बेवास्ता गर्ने र वर्तमानलाई मात्रै महत्व दिने परिपाटी बढेकोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री सिंहले भन्न्नुभयो, ‘हामीले इतिहासको अध्ययन गरेर, त्यसको लेखाजोखा गरेर वर्तमान चुनौतीको सामना गर्दै सुन्दर भविष्य निर्माणमा अघि बढ्नुपर्छ ।’ नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिपछि नेपालमा शिक्षाको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गर्नुभयो ।
काभ्रेमा सामुदायिकस्तरबाट सस्तो र गुणस्तरीय शिक्षा प्रवाहमा काभ्रे बहुमुखी क्याम्पसले गरेको योगदानको उपप्रधानमन्त्री सिंहले प्रशंशा गर्दै आगामी दिनमा अझ दक्ष शैक्षिक जनशक्ति उत्पानदनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, फरक सन्दर्भमा उहाँले असोज दोस्रो साता आएको बाढीपहिरोले काभ्रे जिल्लामा पुर्याएको क्षतीबारे सरकार गम्भीर रहेको भन्दै पुननिर्माणको काममा जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहनुभएका बाग्मती प्रदेशका सांसद, पूर्व उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादेले आफ्नो ध्यान शिक्षाको सुधारमा रहेको बताउनुभयो । विगतमा जनप्रतिनिधि हुँदा भौतिक पूर्वाधार बन्नुलाई नै विकासका रुपमा आफूहरुले बुझ्ने गरेपनि अहिले सोचमा परिवर्तन आएको बताउनुभयो । ‘भौतिक पूर्वाधारको विकास मात्र समग्र विकास होइन । जबसम्म यहाँका नागरिकहरुलाई शिक्षित बनाउन सक्दैनौं, मतदाताहरुलाई सक्षम बनाउन सक्दैनौं तब सम्म यो भौतिक पूर्वाधारको पनि कुनै अर्थ राख्न सक्दैन भन्ने हाम्रो ठम्याई हो ।’