काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा नीजि क्षेत्रले लगानी गर्ने वातावरण निर्माण नभएसम्म किसानहरुको हक हित सुनिश्चित नहुने बताएका छन् ।

शुक्रबार मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव समारोहमा उनले नीजि क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता नपाउने भन्दै किसान र सरकार बीचको खाडललाई भर्न पनि निजी क्षेत्रको भूमिका रहेको बताए । उनले भने, ‘कृषिमा नीजि क्षेत्रले लगानी गर्ने वातावरण निर्माण नभएसम्म तल्लो तहका किसानहरुको हक हितको सम्भावना छैन् । निजी क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता पाउदैँन् । यसको साथै किसान र सरकार बीचको खाडललाई भर्न निजी क्षेत्रको भूमिका उल्लेखनिय हुनेछ । अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तहका कृषक, सहकारी र नीजि क्षेत्र विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायिकरणमा केन्द्रीत हुनुपर्छ ।’

उनले कृषिमा लगानीका लागि एक अवसरको साथै आवश्यकता र बाध्यता पनि भएको बताए । उनले भने, ‘कृषिलाई व्यवसायीकरण गर्न प्रविधि, पूर्वाधार तथा बजार आवश्यक भएको र त्यसको लागि रणनीतिक लगानीको आवश्यकता छ । कृषिमा लगानी एक अवसर, आवश्यकता र बाध्यता पनि हो । यसलाई मध्यनजर गरेर नेपाल सरकारले आव २०८०। ८१ देखि २०९१।९२ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।’

नेपाल सरकारले तल्लो स्तरका व्यक्तिहरुलाई कृषिमा आवद्धता गराउँदै बिहान बेलुकी खानको लागि समस्या नपर्ने अवस्था निर्माण गर्ने उद्देश्य बोकेको भन्दै यसमा निजी क्षेत्रबाट साझेदारीका रुपमा मुक्तिनाथ कृषि कम्पनीले सरकारलाई सहयोग गर्नका लागि अग्रणी भूमिका निर्वाह गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘नेपाल सरकारले नेपाललाई कृषि दशकका रुपमा विकास गर्ने मात्र होइन किसानहरुलाई उत्थान गरेर १० वर्षभित्रमा सबै ग्रामीण भेगमा रहेका तल्लो स्तरका व्यक्तिहरुलाई कृषिमा आवद्धता गराउने छ । उनीहरुको पहुँच बिहान बेलुकी खानको लागि समस्या नपर्ने अथवा बजारबाट चामल किनेर खान नपर्ने अवस्था निर्माण गर्ने उद्देश्य बोकेको छ । त्यसैले दशकव्यापी अभियानलाई सफल बनाउनको लागि निजी क्षेत्रबाट साझेदारीका रुपमा जसरी मुक्तिनाथ कृषि कम्पनीले सरकारलाई सहयोग गर्नका लागि आग्रणी भूमिका निर्वाह गरेको छ ।’ यस्तै, उनले बोल्ने मात्र होइन काम गरे देखाउनुपर्ने ठाँउमा आफू पुगेको भन्दै इमान्दारिताका साथ किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको