काठमाडौँ । नेपाल भ्रमणका रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्नुभएको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार विहान शहरी विकास मन्त्रालयमा भेट गर्नुभएको हो । भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिनुभएको थियो ।

भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदिको स्वच्छता र सफाईलगायतका नेपाल भारतबिच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदि सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । त्यस्तै, उहाँले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदिमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताउनुभयो ।

भेटमा नेपालको पूर्वाधार विकास,भुकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिनुभएको थियो । ‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भन्नुभयो, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियाननै चलाएका छौं । सिमा नदिमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’

भारतको इन्डोर लगायतका केही शहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदि सफाईको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो । भारतका विदेश सचिव मिश्रीले नेपालको शान्ति,स्थायीत्व र समृद्धिका लागि भारतको सँधै साथ सहयोग रहने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको