काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संविधानमा लेखिएका महिला, दलित, जनजाति र समावेशिताका मुद्दालाई पार्टीभित्र र बाहिर पनि पूर्णरूपमा कार्यान्वयन गर्न सक्नुपर्ने बताएका छन् ।
जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा काफ्लेले भने, “संविधानले जनतालाई दिएको मौलिक हक, शिक्षा स्वास्थ्य रोजगार खाद्यान्नसहितका हकहरू कांग्रेसले संविधान राम्रो देखिन्छ भनेर लेखेको हैन । यी बुँदा नेपाली जनताको जनजीविका सहज बनाउन राखिएको हो । त्यसैले यसको कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर बन्नुपर्छ । नेपाली जनताको जीवनस्तर सुधार्नु हाम्रो प्रमुख दायित्व हो ।”
उनले नेपाल विद्यार्थी संघ, तरुण दलसहित सबै भ्रातृ तथा सुभेच्छुक संस्थाको समय नै महाधिवेशन अबिलम्व गर्नुपर्नेमा पनि जोड दिए ।
“विधान बमोजिमको महाधिवेशन नेतृत्व चयनका लागि मात्र होइन । नयाँ पुस्तालाई लोकतान्त्रिक अभ्यास आचरण र सिद्धान्त र व्यवहार सिकाउन पनि हो । त्यसैले कांग्रेसले सबै भ्रातृ संगठनलाई आन्तरिक लोकतन्त्रको अभ्यास गराउनैपर्छ । समयमै महाधिवेशन गराउन अब सिंगो पार्टी पंक्ति लाग्नुपर्छ ।”