काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति निर्वाचित गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गरेकी छिन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना भनाइ राख्दै थपलियाले पार्टी तल्लो संरचनादेखि केन्द्रीय समितिमा महामन्त्री वा उपसभापति पदमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रस्ताव अघि सारेकी हुन्।

‘राजनीतिमा महिलाहरुको उल्लेख्य सहभागिता र आकर्षण बढेपनि ‘उप’ मै सिमित राख्ने परिपाटी तोड्न जरुरी छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुखमा एक जना महिला अनिवार्य त गरियो तर प्रमुखमा महिलाहरुको सहभागिता दुई प्रतिशत पनि छैन्। तर अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ। पार्टीका सबै संरचनामा एक महामन्त्री वा उपसभापति अनिवार्य निर्वाचित गर्ने व्यवस्था राखौं,’ उनले भनिन्।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख समेत रहेकी थपलियाले भ्रातृ एव शुभेच्छुक संस्थाहरुले समयमै अधिवेशन गर्न नसक्दा संगठनको गतिविधिमा सुस्तता आएको उल्लेख गर्दै प्रत्येक दुई÷दुई बर्षमा अधिवेशन गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। उनले भनिन्,‘भ्रातृ एव शुभेच्छुक संस्था आफुले अधिवेशन गर्न सक्दैनन् भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैं तोक्नसक्नुपर्छ र संगठनलाई चलायमान बनाउनुपर्छ।’ बैठकमा थपलियाले विभागबाट चाँडै नै व्यवसायी एवम उद्यमीहरुको राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको