बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले हसिनाले राजीनामा दिएर सेनाको हेलिकप्टरमा ढाका छाडेको खबर सार्वजनिक गरिरहेका छन् । प्रदर्शनकारीहरुले हसिनाको राजीनामा माग्दै बंगलादेशको राजधानी ढाकासहित जिल्ला जिल्लामा प्रदर्शन चर्काएका थिए । अहिले प्रदर्शनकारी  प्रधानमन्त्री कार्यालय पसेका छन् ।

बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै जाँदा आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका थिए । भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन्।

किन चर्कियो आन्दोलन ?
सरकराले सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्यायो । त्यसपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बन्न पुग्यो । जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश गरेको थियो। त्यस्तै एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान गर्नेहरूका लागि छुट्याउन पनि आदेश दिएको थियो।

९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिइएको छ । सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो। तर, आन्दोलनकारीलाई घर फर्किन भनेपनि २ सय भन्दा बढीको मृत्यु, सयौं घाइते र धेरै पक्राउ पनि परेका थिए।
विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग राख्दै आन्दोलनलाई निरन्तरता दिए।
विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन्। उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरिन् । सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको