संघीयता कार्यान्वयनको सात वर्षपछि संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा नेपाली कांग्रेसले सत्ताको नेतृत्व पाएको छ। ६१ लाख जनसंख्याको सबैभन्दा बढी २० दशमलव ५४ प्रतिशत रहेको तामाङ समुदायबाट मुख्यमन्त्री बन्नुभएका लामा कांग्रेसबाट पहिलो मुख्यमन्त्री हुनुहुन्छ। नुवाकोटको किस्पाङका स्थायी बासिन्दा लामा नेपालको संविधान २०७२ का हस्ताक्षरकर्ता समेत हुनुहुन्छ।

बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कांग्रेस नेता बहादुरसिं लामा तामाङ समुदायको पहिलो मुख्यमन्त्री बन्नुभएको छ। संघीयता कार्यान्वयनको सातौं वर्षपछि बागमतीमा पहिलो पटक कांग्रेसका तर्फबाट लामाले सत्तानेतृत्व गर्नुभएको हो। २०७४ माघबाट हालसम्म बागमतीमा चार मुख्यमन्त्रीले काम गरिसकेका छन्। कांग्रेसले भने एकपटक पनि सरकारको नेतृत्व गर्न पाएको थिएन। केन्द्रमा गठबन्धन फेर बदल हुँदासमेत बागमतीमा कांग्रेस सत्ताको नेतृत्वबाट बिमुख रह्यो। २०७४ माघ २८ मा डोरमणि पौडेल बागमतीकोे पहिलो मुख्यमन्त्री बन्नुभयो । पौडेल मुख्यमन्त्री रहेकै बेला नेकपामा विवाद उत्पन्न भयो। २०७८ भदौ २ मा पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभयो। एमाले विभाजित भएपछि १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजे। सरकार अल्पमतमा परेसँगै २०७८ कात्तिक १० शाक्यले पद त्याग्नुभयो। केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीको लगायतका दलको गठबन्धन बन्यो। २०७८ कात्तिक ११ मा एकीकृत समाजवादीका दलका दलका नेता राजेन्द्र पाण्डे ४ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभयो।

२०७९ मंसिरमा भएको चुनाव लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जमरकट्टेल २०७९ पुस २५ मुख्यमन्त्री बन्नुभयो। संसदको पहिलो दल भएर पनि कांग्रेस सत्ता नेतृत्वमा पुग्न सकेन। तर यही असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमतिपछि पहिलो पटक कांग्रेस बागमतीको नेतृत्वमा पुगेको हो ।

को हुन् मुख्यमन्त्री लामा ?
बुवा स्वर्गीय दिपबहादुर लामा तामाङ र आमा स्व पुर्णिामाया तामाङको कोखबाट २०२७ कार्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका–५ मनकामनामा सामान्य परिवारमा लामाको जन्म भयो। सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट निमाबि, सदरमुकाम विदुरबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरेका लामा राजनीतिसँगै व्यावसायिक काममा पनि संलग्न थिए। लामाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। २०४३ सालदेखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको सदस्य हुँदै नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा ने विसंघ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा लामा उदाउनुभएको हो।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा भारी मतका साथ निर्वाचित लामा पार्टीको १३औं र १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ। २०६४ सालमा नुवाकोट क्षेत्र नं.३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र)का महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएका लामा संविधानका हस्ताक्षरकर्ता हुनुहुन्छ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्यमा नुवाकोट २ को उकबाट निर्वाचित लामा जिल्लामा विकास प्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाका बिश्वासपात्र लामा,काङ्ग्रेस वृत्तमा प्रभावशाली नेता भएकै कारण बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो। गत ०७९ चैत २६ गते बागमती सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका लामाले त्यसबेला सत्ताको नेतृत्व गरेको माओवादीलाई दवावमा राखेर मन्त्रालय काङ्ग्रेसको भागमा ल्याउन सफल हुनुभएको थियो।

माओवादीले भन्ने गरेको ताम्सालिङ क्षेत्रमा आफ्नो पहुँच बढाइरहनुभएका लामा सबैभन्दा बढि २० प्रतीशत लामाङ समुदायबाट पहिलो मुख्यमन्त्री बन्नुभएको छ।विकासवादी नेताको छवि बनाउनुभएका लामाका सामु संघीयता सवलिकरण र जनताले अनुभुति गर्नेगरी विकासलई तिब्रता दिनुपर्ने चुनौति छ। सहज अंकगणित र असहज परिस्थितिबीच लामाले आफुलाई अब्बल बनाउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको