काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम हुन नसकेकै कारण कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन्।
यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने प्रतिवद्धता जनाउँदै उनले जनतामा आशा जगाउने र राजनीतिक अस्थिरताको अन्त्य गर्नेगरी काम गर्ने पनि बताए। आइतबार तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले अघिल्लो सरकारले जनताको चाहनाअनुसार काम नभएकाले नयाँ सरकार बनेको बताएका हुन्।
‘यो सरकार अहिले संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ। यसरी सरकार बनाउनुपर्ने अवस्था आउनुको कारण अगाडिका सरकार अस्थिरताका कारण टिक्न सकेन्। जनताको चाहनाअनुसार काम गर्न सकेन, त्यस कारण आजको परिस्थिति बन्यो,’ उनले भने।
उपप्रधानमन्त्री सिंहले भने,‘यो सरकारले अगाडिका सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ। जनतामा आशा जगाउने गरि काम गर्नेछ र राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ।’
साथै प्रत्यक्ष जनतासँग जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै उनले स्थानीय सरकारलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताए। उद्घाटन भएको भवनले जनतालाई सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुनेगरि आधुनिक सुविधा सम्पन्न नगरपालिका बनाउनका लागि काम गर्न समेत सुझाव दिए।

