काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासहकार्य गर्ने सहमति पछि कांग्रेसबाट कसको नेतृत्व भन्ने चासो छ । अहिलेसम्म सभापति शेरबहादुर देउवा पनि अन्योलमै रहेको बुढानिलकण्ठ स्रोत बताउँछ । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ अघिल्लो क्याबिनेटमा मन्त्री बनिसकेका छन् भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सरकारमा जान आकांक्षा राखिरहेको देखिँदैन । यस्तो अवस्थामा देउवाले पूर्व पदाधिकारीको नेतृत्वमा सरकारमा पठाउने तयारी गरिरहेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम अहिले चर्चामा छ । विगतमा पटक पटक मन्त्री हुँदा पनि विवादमा नआउने कम नेतामध्येमा पर्छन्, नेता सिंह ।
प्रकाशमान हुन सक्छन् उपयुक्त विकल्प
अहिले कांग्रेसबाट नेतृत्व गरेर जानेमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम चर्चामा छ । काठमाडौं-१ बाट निर्वाचित सांसद सिंह कांग्रेसमा अहिले दोस्रो तहका सिनियर नेता हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहिसकोले सिंहको नेतृतवमा पठाउँदा पार्टीभित्रको सन्तुलन मिलाउन पनि सहज हुने देखिन्छ । महाधिवेशनमा सभापतिमा देउवालाई सहयोग गरेको र पछिल्लो समय कांग्रेस सरकारमा हुँदा पनि मन्त्रीमा आकांक्षा नराखेका सिंह अहिले पनि आफै भने बोलिसकेका छैनन् । उनले औपचारिक रुपमा मन्त्री बन्ने आकांक्षा राखेका छैनन् ।
भर्खरै उपचार गरेर भारतबाट फर्किएका नेता सिंह दोस्रो तहका नेताबाट सरकारमा पठाउँदा भने उपयुक्त हुने चर्चा कांग्रेसभित्रै चलिरहेको छ । सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै नेतासँग राम्रो सम्बन्ध रहेकाले पनि सिंहको नेतृत्वमा जाँदा सरकार प्रभावकारी हुने ठानिएको छ । ‘संयोजनकारी भूमिका खेल्न सक्ने र केपी ओलीसँग पनि राम्रो सम्बन्ध भएकाले अहिले प्रकाशमानजी पठाउँदा उपयुक्त हुनसक्छ,’ देउवा निकट एक नेताले नाम नलेख्ने शर्तमा भने, ‘उहाँको नेतृत्वमा पठाउँदा अरु मन्त्री पठाउन पनि सजिलो हुन्छ ।’
उसो त यसअघि सरकार बन्दा पनि सिंहको नेतृत्वमा जाने चर्चा थियो । तर, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जाँदा पनि सिंहले सहज रुपमा लिएका थिए । कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति हुँदा संविधान संशोधनको विषय पनि संविधान संशोधनको विषय पनि अघि बढाउने सहमति छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मूल मर्म जोगाउनुपर्छ भन्नेमा शुरुदेखिनै सिंह दृढताका साथ उभिनुभएको थियो । त्यसैले अहिले सिंहलाई पठाउँदा संविधान संशोधनको विषय एमालेसँग मिलेर काम गर्न पनि सहज हुने ठानिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्ने सहमति अहिले कांग्रेस र एमालेबीच भएको छ । त्यसलाई सहज रुपमा कायाृन्वयनमा ल्याउन र बीचमा वातावरण विग्रने अवस्था आउन नदिन पनि सिंह उपयुक्त पात्र भएको भन्दै सिंह उपयुक्त पात्र हुन् ।

