काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेबिच केपी ओलीलाई प्रधानमन्त्री बनाउने गरि साेमबार मध्यरातमा सहमति बन्याे ।
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तयार पारेको सहमतिपत्रमा हस्ताक्षर भयाे ।
सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, डेढ वर्षपछि देउवालाई पालो दिने, राष्ट्रिय सहमतिको सरकार भएकाले सकेसम्म सबै दललाई सहभागी हुन आमन्त्रण गर्ने , निर्वाचन प्रणाली सुधारलगायतका विषयमा संविधान संशोधन गर्ने गरि सहमती बनेकाे छ ।
अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालक, आरजु राणाकाे व्यापारिक साझेदार, केपी ओलीका विश्वासपात्र रामेश्वर थापाकाे चपलीस्थित निवासमा सहमति भयाे । सहमतिपत्रका देउवा र ओलीले हस्ताक्षर गरेकाे तस्विर भने आरजुले खिचिन् ।
सहमतिपत्रमा उल्लेख नभए पनि अर्थसहितका मन्त्रालय एमाले र गृहसहितका मन्त्रालय कांग्रेसले लिने मौखिक समझदारी बनेको छ । हस्ताक्षर गरेको १५ मिनेटपछि राति साढे १२ मा नेताहरू आ–आफ्नो निवासतर्फ लागेका थिए ।

