काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाका मकवानपुरका शुकबहादुर तितुङको परिवारलाई राहत दिन माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोलेका बर्तौलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे। ‘पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले शुकबहादुर तितुङ लगायतका जनताहरुलाई आक्रमण गरे गोली हानेर शुकबहादुर तितुङको हत्या गरे।’
उनले यही असार ७ गते मध्यवर्ती क्षेत्र वनभित्र त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियता समेत नराखी तितुङको हत्या गरेको बताए। बर्तौलाले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै उक्त हत्याका दोषीलाई कारबाही गरिनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
‘घटना भैसक्यो दोषी सुरक्षाकर्मीलाई पहिचान गरी कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

