काठमाडौं : नेपाल विद्यार्थी संघले सत्तारूढ दलकाे असंसदीय गतिविधि नसच्चिए प्रतिवादमा उत्रने चेतावनी दिएकाे छ । संघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै शुक्रबार यस्ताे चेतावनी दिएका हुन् ।
प्रतिनिधिसभाका सभामुखको पक्षपाती व्यवहार संसदीय व्यवस्था माथिको प्रहार भएकाे पनि नेविसंघले जनाएकाे छ । `नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनुभएका कांग्रेस उपसभापति माननीय धनराज गुरुङले संसद्भित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वभाविक व्यवहार निन्दनीय छ । संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ,´ प्रवक्ता सेजुवालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति
प्रतिनिधिसभाका सभामुखको पक्षपाती व्यवहार संसदीय व्यवस्था माथिको प्रहार
नेपालले अङ्गिकार गरको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा संसद्का माध्यमबाट आम जनताले सार्वभौमसत्ताको प्रयोग गर्दछन् । सरकारको निर्माण गर्ने, कानून बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने, संसदीय सुनवाई गर्ने साथै आवश्यकता अनुसार संसदीय समिति गठन गरी राष्ट्रिय स्तरमा उब्जिएका प्रश्नको समेत उत्तर खोज्ने संसद्को मूल अभिभारा हो । बिहीबार संसद्मा सत्तारूढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेका छ । संसद्मा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति नेपाल विद्यार्थी संघका गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनुभएका कांग्रेस उपसभापति माननीय धनराज गुरुङले संसद्भित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वभाविक व्यवहार निन्दनीय छ । संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ ।
संसद्मा प्रतिपक्षी दलको विरोध जारी रहँदा जबर्जस्ती संसद् अघि बढाउने सभामुखको पक्षपाती व्यवहारका कारण संसद्मा हिजो अस्वभाविक अवस्था सिर्जना भएको नेपाल विद्यार्थी संघको ठहर छ । सभामुखलाई संसदीय मर्यादा कायम गर्न ध्यानाकर्षण गराउँदछौँ । साथै कांग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टी स्टेट सँग जोडिएको जग्गा प्रकरणको विषयमा अनुसन्धान प्रभावित गर्ने र सत्ताको बलमा दोषी उम्काउने खेल नरोकिए नेपाल विद्यार्थी संघ सशक्त प्रतिवादमा उत्रन बाध्य हुने समेत यसै प्रेस विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छ ।
सुरज सेजुवाल
प्रवक्ता
नेपाल विद्यार्थी संघ
केन्द्रीय कार्यसमिति



