काठमाडौं : नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म अब सदन सञ्चालन नहुने बताएको छ । महामन्त्री गगन थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्ताे बताए ।

`यो विषयका सन्दर्भमा अब अरू कुरै छैन । सहकारी ठगीमा संलग्नलाई कारबाही गर्ने वा जोगाउने पक्षमा उभिने ? दलहरूले सोच्ने वेला भएको छ । सदनमा मुठभेड गर्ने कांग्रेसको चाहना र प्राथमिकता होइन । हामीले स्पष्ट भनेका छौँ-`छानबिन समिति बन्छ भने संसद्को काम अगाडि बढ्छ, नत्र सदनका कुनै पनि काम अगाडि बढ्न सक्दैनन् । प्रधानमन्त्रीदेखि कसैले सदनमा बोल्न पाउँदैनन् । संसदीय समिति नबनेसम्म हामीलाई कुनै पनि कुरा स्वीकार्य छैन ।’

सभामुखकाे भूमिकामा प्रश्न-

महामन्त्री थापाले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए । सभामुखकै कारण सदनमा बिहीबार तनाव भएको उनको आरोप छ । ‘सभामुख जिम्मेवारीमा चुक्नुभएको छ । सदनमा सत्तापक्ष र प्रतिपक्षको कतिपय कुरा मिल्दैन, तर सभामुख दलीय आबद्धताबाट बाहिर हुनुपर्छ । उहाँ पुरानो दलको आबद्धताबाट बाहिर आउन सक्नुभएन । बिहीबार सत्तारूढ तीन दलका शीर्ष नेतासँगको छलफलपछि त्यही आधारमा सदन चलाउनुभयो । जसले सदनमा जबर्जस्ती गरेर अनपेक्षित अवस्था निम्तियो,’ उनले भने । कांग्रेस लचक भइरहेको अवस्थामा विशेष गरी एमाले अध्यक्ष परिस्थिति बिगार्न लागिपरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको