काठमाडौं : सहकारी अनियमितताको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु एक पछि अर्को काण्डमा मुछिएको सार्वजनिक भइरहेको छ । सभापति रवि लामिछाने सुर्यदर्शन सहकारीको पैसा अपचलनमा जोडिएको विषयले चर्चा पाइरहँदा उनका अरु विश्वासपात्र पनि सहकारी प्रकरणमा मुछिएका छन् ।
जीवी राई अध्यक्ष र हर्ताकर्ता रवि लामिछाने रहेकै बेला गोरखा मिडिया नेटवर्कमा सहकारीको ८० करोड रुपैया ल्याएर अहिले डुबानमा परेको विषयले लामिछाने विवादमा छन् । उनीविरुद्ध कास्कीका उजुरी परेको छ भने संसदमा कांग्रेसले छानविन समितिको माग गरिरहेको छ । गृहमन्त्री लामिछानेले आफ्नो बचाउ गरिरहँदा रास्वपाका अरु नेताहरु पनि सहकारी घोटालामा मुछिएको तथ्य सार्वजनिक हुन थालेको छ । राेेचक त के छ भने, सहकारी अनियमिततामा आफूलाई केही थाहा नभएकाे बताउने लामिछानेका विश्वासपात्र र उनकै पत्नी निकिता पाैडेलसमेत सहकारीमा जाेडिएकमे पाइएकाे छ । लामिछानेका पार्टी उपसभापति डीपी अर्याल र सहमहामन्त्री कबिन्द्र बुर्लाकाेटी पनि सहकारी ठगिपछि फरार जीबी राईसँग नेक्सस रहेकाे खुुलेकाे छ ।
रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद डीपी अर्याल र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी पनि सहकारी ठगीमा मुछिएका छन् । अर्याल र बुर्लाकोटी दुबै सभापति लामिछानेका विश्वासपात्र हुन् । अर्याल र बुर्लाकोटीले ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को सञ्चालनका क्रममा बचतकर्ता ठगी गरेको खबर सार्वजनिक भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालका श्रममन्त्री अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थालाई माघ ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ ।
सहकारी विभागको सिफारिसमा माघ १२ गते समस्याग्रस्त घोषणा भएको सहकारीमा पछिल्लो एक वर्षदेखि लामिछानेका पूर्व व्यापारिक साझेदार गितेन्द्र बाबु (जीबी) राई अध्यक्ष छन् । राईलाई अध्यक्ष बनाउन लामिछानेका विश्वासपात्र अर्याल र बुर्लाकोटीले भूमिका निर्वाह गरेको बताइन्छ । हाम्रो नयाँ कृषि सहकारीले ३४ जना बचतकर्ताको ४ करोड ९२ लाख रुपैयाँ बचत फिर्ता नगरेको कार्यालयले जनाएको छ । संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि कार्यालयले सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना नै जारी गरिसकेको छ ।
कांग्रेसले आजको संसदमा लामिछानेसहित अर्याल र बुर्लाकोटीमाथि पनि छानविनको माग गरेको छ ।



