काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले हुलाकी राजमार्ग निर्माणमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन्। उनले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारसमक्ष माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘अहिले देशमा निर्माण भैरहेको राष्ट्रिय राजमार्गको सडक सिमा कति हो भनेर हामी जान्न चाहन्छौं । हामी हेरिरहेका छौं कि राष्ट्रिय गौरवको रुपमा स्थापित राष्ट्रिय राजमार्गहरु मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, मदन भण्डारी राजमार्गलगायत महत्वपूर्ण सडकहरुको सडक सिमा १२ मिटर गरिएको छ । सबैलाई थाहा छ कि सडकको लम्बाईको अनुपातमा चौडाई हुन्छ’ साहले भने, ‘जिल्लास्तरका साना सडकहरु ६ लेनका हुने राष्ट्रिय मार्गहरु दुई लेनका हुने ? हिजोपनि सडकहरु बनेका थिए । हिजो गाडी घोडाहरु कम हुँदा, सवारीसाधन कम हुँदा राष्ट्रिय राजमार्गका सडकहरुको सडक सिमा ५० मिटर कायम गरिएको थियो । आज अरबौं, खरबौं लगानी गरेर १२ मिटरमा सडक निर्माण गरेर हामी के सन्देश दिन खोजेका छौं ? त्यसबाट के लक्ष्य प्राप्त गर्न खोजेका छौं । यसरी सरकारको बजेट दुरुपयोग गर्न मिल्छ ? यसरी हेलचेक्र्याँई गर्न मिल्छ ?’

उनले हचुवाको भरमा सडक निर्माण गर्नुपनि ठूलो रकमको दुरुपयोग हुनु भएको टिप्पणी गरे । ‘त्यसैले हामी भौतिकमन्त्रीसँग जान्न चाहन्छु, तपाईंले राजमार्गका सडकहरुको सडक सिमा किन निर्धारण गर्नुभएन ? के १२ मिटरको सडक सिमा भएका सडकहरुमा मेचिदेखि महाकालीसम्मका जनता हिँड्न सक्छन् ? यदि सक्दैनन् भने पैसाको दुरुपयोग किन गरिराख्नुभएको छ भन्ने प्रश्न आउँछ’ उनले भने, ‘हामी हेरिरहेका छौं कि भौतिक मन्त्रालयमा झण्डै डेढ खर्बको बजेट छ । देशको सबभन्दा पूरानो हुलाकी सडक, झण्डै ४० प्रतिशत जनता प्रत्यक्ष रुपमा जोडिएको सडकमा तीन अर्ब छुट्याईएको छ । यस्तो विभेद किन गरिराख्नुभएको छ ?’

पूर्वमन्त्री समेत रहेका साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने उनको माग छ ।

अन्य राजमार्गमा बजेट अभाव हुन नदिने सरकारले हुलाकी राजमार्गमा बजेट कटौती गर्नुको कारण पनि सो राजमार्ग अलपत्र परेको उनले बताए । साथै उनले हुलाकी राजमार्ग कहिलेसम्ममा सम्पन्न हुने भन्दै सरकारसंग प्रश्न गरेका छन् । अहिले पनि दर्जनौ पुलहरु बनाउँनुपर्ने भए पनि ठेक्कासमेत नलागेको र कतिपय ठाउँमा सडक अलपत्र छोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको