काठमाडौं । मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ।
सोमबार काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए।
’सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन । मुलुक संवेदनशील अवस्थामा छ । यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,’ उनले भने ।
वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ । ’सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन । सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने ।
सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ ।
त्यस्तै उनले पार्टी पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी नदेखिएको उनको भनाइ छ । ’उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन । पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने।



