काठमाडौं । बिभिन्न पार्टीमा आबद्ध पुराना कम्युनिष्ट नेताहरुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
आजपाको काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन्।
पुरानो वामपन्थी नेता भाईकाजी सापकोटा, गुरू बालकृष्ण अचार्य, युवा नेता राहुल बुढामगर, भरत श्रेष्ठ, लक्ष्मी दाहाल सहित दर्जनौं अगुवा नेताहरु विभिन्न पार्टी परित्याग गरी विधिवत रुपमा आजपामा प्रवेश गरेका हुन्।
देशमा विद्यमान सबैखाले बेथीति, भ्रष्टाचार र वर्तमान संकट समाधान गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउने संकल्प सहित आजपामा दिनानुदिन प्रवेशको लहर बढ्दै गएको छ।
यसैबीच आजै आजपा निकटको आम जनजाती महासंघको केन्द्रीय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ। भक्तपुरको सूर्यबिनायक स्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न महासंघको बैठकले पहिचान र अधिकारको मुद्धालाई जोडदार ढंगले उठाउँने निर्णय गरेको छ।
आजपा अध्यक्ष प्रभु साहको प्रमुख आथित्यमा महासंघको बैठकले पहिचान र अधिकारका लागि चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ। जनआन्दोलन दिवसको अवसरमा भ्रष्टाचार एवं लुटकारी ब्यवस्थाको बिरुद्धमा आजपाद्धारा चैत्र २४ गते काठमाण्डौंमा हुने जनप्रदर्शनलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत बैठकले व्यक्त गरेको छ।



