विराटनगर । आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङ सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आज भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधिनजिक पुगेको हो।

९० मिनेट अवधि सकिँदासम्म खेल गोलरहित अवस्थामा टुंगिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटबाट छिनोफानो गरिएको हो।

धरानका मिलन राईको पेनाल्टी प्रहार रोक्दै गोलकिपर पूर्ण चेम्जोङले आफ्नो टिम मोरङलाई विजयी बनाएका हुन्।

धरानका विजय राई, सुगम जीमी, दोर्जे तामाङ र अनिल राईले मात्र गोल गरे। मोरङका अशोक खवास, साइमन लिम्बु, धीरेन क्षेत्री, आदित्य शाक्य र सागर तिवारीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो।

आजको खेलको म्यान अफ द म्याच घोषित हुँदै मोरङका गोलकिपर पूर्ण चेम्जोङले १० हजार रुपैयाँ पुरस्कार पाए।

भोलि बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरो टिम एनआरटीबीच हुनेछ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ। उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको