काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका छन्।
राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा उनले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको भन्दै राष्ट्रको सेवा पनि युवाको कर्तव्य भएको बताए।
उनले युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको बताए।
युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकारले हरसम्भव प्रयास गरेको पनि उनको भनाई छ।
उनले तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए।



