काठमाडौँ । घरेलु टोली नेपाललाई पराजित गर्दै त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ।
नेदरल्यान्ड्सले नेपाललाई ४ विकेट पराजित गरेको हो।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
नेदरल्यान्ड्सको जितमा माइकल लेभिट र म्याक्स ओडोउड पहिलो विकेटको लागि ८२ रनको साँझेलारी गरेका थिए। लेभिट ५४ रनमा आउट भए। साइब्रान्ड एङ्गलब्रेख्त ४७ रन बनाए।
यस्तै बिक्रमजित सिंहले २९ रन, म्याक्स ओडोउड २२ रन बनाए।
नेपालका लागि कुशल मल्ले ४, अबिनाश बोरा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै १३.४ ओभरमा माइकल लेविटको बलमा एल्बी डब्लु आउट भए।
यस्तै गुसन झाले ३४ रन बनाए। उनी १८.१ ओभरमा २५ बलमा ३ छक्का प्रहार गर्दै आउट भए।
कपतान रोहित कुमार पौडेलले २५ रन, ओपनर कुशल भुर्तेल २० रन, कुशल मल्ल ११ बलमा ३ छक्का प्रहार गर्दै २६ रनमा आउट भए। करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए। आरिफ शेख शून्य रनमा आउट भए
सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे। नेपालले अतिरिक्तमा १० रन पाएको छ।
नेदरल्यान्ड्का लागि टिम भ्यान डर गुग्टेन, माइकल लेविट, साइब्रान्ड एङ्गलब्रेख्त र फ्रेड क्लासेनले समान २र२ विकेट लिए।
नेपाल, नामिबिया र नेदरल्यान्ड्स समिलित सिरिजमा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको थियो। नेपालले ४ खेलमा २ जित २ हार ब्यहोरेको थियो। नेदरल्यान्ड्स २ जित १ हार र एक खेल नतिजा विहिन हुँदै ५ अंकको साथ शीर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गरेको थियो।



