काठमाडौं । सेयर बजार कारोबार ओह्रालो लागेको छ। आइतबार बजार परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा झरेको छ। कारोबार २ अर्ब ८ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। यो गत साताको अन्तिम कारोबार दिनभन्दा पनि कम हो।
होटल, पर्यटन र उत्पादनबाहेकका सबै उपसमूह घट्दा नेप्से दोहोरो अंकले घटेको हो। ३०९ कम्पनीमध्ये १७३ को सेयरमूल्य घटेको छ। सेयरमूल्य घट्दा आज सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ता छन्। कामना सेवा विकास बैंक ऋणपत्र, बीपीडब्लु लघुवित्त, बोटलर्स नेपाल तराई, माथिल्लो मैलुङ खोला जलविद्युत लगायतका सेयरमूल्य उल्लेख्य मात्रामा घटेका छन्।
घटेको बजारमा पनि ६७ कम्पनीका सेयरधनीले भने कमाएका छन्। ग्लोबल आइएमई लघुवित्त, एनआइसी एसिया गोथ फण्ड–२, सीवाइसी नेपाल लघुवित्त लगायतको सेयरमूल्य बढेको छ।
आज सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा सोनापुर मिनरल्स अगाडि रह्यो । सोनापुरको १३ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ। अन्तिम मूल्य प्रति कित्ता ४ सय ५२ रुपैयाँ रह्यो। यसैगरि शिवम् सिमेन्टको ९ करोड, हिमालय रिइन्स्योरेन्सको ८ करोड ३० लाख, बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।



