काठमाडौं । सन् २०२६ आयोजना हुने फिफा विश्वकप छनोट तथा एशियन कप छनोटअन्तर्गत बहराइनसँग हुने खेल दशरथ रंगशालामा नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दशरथ रंगशालामा खेल नहुने पुष्टि गरेको हो। योसँगै नेपाल बहराइनबीचको खेल अब न्युट्रल भेन्युमा हुनेछ।
दशरथ रंगशालाको दुबो कमजोर भएपछि बहराइनले केही दिन अघिमात्रै एशियाली फुटबल महासंघ (एएफसी) लाई उजुरी गरेको थियो। उसले मैदानको अवस्था यही रहे नेपालमा नखेल्ने एएफसीलाई जानकारी गराएको थियो।
बहराइनको उजुरीपछि एएफसीको म्याच कमिस्नरको भूमिकामा नेपाल आएका मिन्दु दोर्जेले मैदानको निरीक्षण गरेका थिए। उनले मैदान खेल्न योग्य नरहेको बताएका थिए।
नेपाल र बहराइनबीचको खेल आगामी चैत ८ गते दशरथ रंगशालामा हुने तालिका थियो। समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ।



