काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको छ।
साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनल खेलमा जोर्डनलले नेपाललाई पेनाल्टीमा ५-३ गोलले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट २-२ गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको थियो।
नेपालका लागि पेनाल्टीमा गीता राना, दीपा शाही, हिरा कुमारी भुजेलले गोल गरिन् भने अअमृता जैशीको पेनाल्टी जार्डनकी गोलरक्षकले बचाइन्। यस्तै जोर्डनका लागि सबै पाँचै खेलाडीले गोल गरे।
त्यसअघि खेलको २९औँ मिनेटमा नेपालका लागि सविता राना मगरले गोल गर्दै नेपाललाई पहिलो हाफभरि १० गोलको अग्रता दिलाएकी थिइन्। उनले डिबक्स नजिकै बाट रेखा पौडेलले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिइन्।
७४औं मिनेटमा जोर्डनले खेलमा बराबरी गर्यो। जोर्डनका लागि लाना फेरासले गोल गरेर खेल बराबरीमा ल्याइन्। उक्त गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो।
त्यसपछि ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो। साराह अबु साबाहले बक्स भित्रबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाइन्।
यस्तै अतिरिक्त समयको दोस्रो मिनेटमा प्राप्त पेनाल्टीलाई गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो।
पराजित भएसँग नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं पराजय हो।

