काठमाडौं : राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले काेशी प्रदेशमा अहिलेका लागि सबैकाे फेस सेभिङ भएपनि यस्ताे प्रवृत्तिले दीर्घकालीन रूपमा राजनीति संक्रमित हुने बताएका छन् ।काेशी प्रदेशमा कांग्रेसका नेता शेखर काेइराला पक्षका केदार कार्की एमालेकाे समर्थनमा मुख्यमन्त्री बनेका छन् । एमालेकाे समर्थनमा मुख्यमन्त्री लिएका शेखरले बालुवाटारमा भने गठबन्धनमा दृढ रहेकाे चिर्कटाेमा हस्ताक्षर गरेका थिए ।
`कोसी प्रकरण आदि हो कि अन्त्य वा अन्त्यको शुरुवात हो कि शुरुवातको अन्त्य? तस्बिर स्पष्ट नभइसकेको छैन, निकट भविष्यमा होला!´विश्लेषक वाग्लेले फेसबुकमा लेखेका छन्, `तर अहिलेका लागि सबैलाई ‘फेस सेभिङ’ भए पनि यस्तो चरित्र, प्रवृत्ति र पद्धतिले नेपाली राजनीति तत्कालीन मात्रै होइन, दीर्घकालीनरूपमा नै गम्भीर संक्रमित हुने देखिन्छ!´
काेशीमा आफ्ना विश्वासपात्रलाई मुख्यमन्त्री बनाउन पार्टी अनुशासन उल्लंघन गरेकाे भन्दै कांग्रेसभित्र असन्तुष्टि छ । शेखरले पार्टीभित्र छलफल नै नगरि एकलाैटी रूपमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरि कार्कीकाे पक्षमा सँख्या पुर्याएका थिए । पार्टी नीती विपरितकाे गतिविधि भएकाे भन्दै कांग्रेस काेशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले शनिबार राजीनाामा दिएका छन् । यता, कांग्रेस भित्र सभापति देउवाले कांग्रेसकाे माओवादीकरण गरेकाे आराेप लागिरहँदा काेशीमा शेखरले कांग्रेसकाे एमालेकरण गर्न खाेजेकाे भन्दै आलोचना भएकाे छ ।




