काठमाडौं- सेना समायोजन क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा आएका सहायक रथी यमबहादुर अधिकारी ‘प्रतीक्षा’को पदावधि दोस्रोपटक थप गरिएकाे छ । सा्े विषयले सत्तारूढ दल नेपाली कांग्रेसकाे बैठकमा प्रवेश पाएकाे छ । कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले साे विषय उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काकै अगाडि उठाए ।
कांग्रेस बैठकमा केन्द्रीय सदस्य बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनालाई कब्जा गर्ने पुरानै धङधङीबाट मुक्त नदेखिएको टिप्पणी मात्रै गरेनन्, अधिकारीकाे म्याद थपकाे विषयमा कांग्रेस बाेल्नुपर्ने बताए । उनले भने,`जब-जब प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, तब-तब सेनालाई चलाउन थालिन्छ। पहिले पनि रुक्मांगत कटुवाल काण्ड मच्चाउनुभयो। अहिले पनि माओवादीबाट सेनामा आएका जर्नेलको म्याद पहिले नै थपिसकेको थियो सरकारले। केपी ओली सरकारले ब्रिगेडियर जर्नेल बनाएर चार वर्ष म्याद थपिएको थियो। आज प्रचण्डको सरकारले फेरि विधि विधानविपरीत निर्णय गरेर चार वर्ष म्याद थपिएको छ । ’ बस्नेतले थप भने, ‘यो विषयमा सेनामा पनि असन्तुष्टी छ। कांग्रेसले यो विषयमा बोल्ने कि नबोल्ने ?’
कांग्रेस नेता रक्षामन्त्री रहेको अवस्थामा मन्त्रिपरिषद निर्णयबाट उनको म्याद थप भएकामा उनले आश्चर्य व्यक्त गरे। ‘यस विषयमा म कांग्रेसको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
नेपाली सेनाले नियमित प्रेस नोटमार्फत उनको पदावधि दोस्रोपटक थपिएको जनाएको थियो। उनको पहिलो कार्यकाल गत ३१ भदौमा सकिएको थियो। रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने बैठकमा यसबारे खासै चर्चा गरेनन् ।



