
हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ ।
नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । उनले भने, ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ ।’
उनले समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउँछन् ।
उनका अनुसार यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्छ ।
आँखा पाक्ने रोग भाइरल कन्जग्टिवाइटिसका लक्ष्ण
-अकस्मात आँखा रातो हुनु
-आँखाको डिल सुनिएर हेर्न समस्या हुनु
-आँखाबाट पानी बगिरहनु
-आँखा चिलाउने
-पोल्ने र बिझाउने हुनु
-आँखामा पहेंलो चिप्रा आउनु
-बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि हुन् ।
आँखा पाक्ने रोग भाइरल कन्जग्टिवाइटिस लागेमा ध्यान दिनुपर्ने कुराहरु
-यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने
-सफा पानीले आँखा सफा गर्ने
-घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
-संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्ने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्ने
-हेल्थवाणीबाट