काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह (लामा) तामाङले पार्टीमा नेताहरुको तेजोबध गरेर संगठन नबन्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले आफूभन्दा कोही पनि छैन भन्ने भावनाले संगठन नबन्ने बताएका हुन् । नेताहरुप्रति तेजोवध गरेर संगठन निमार्ण नहुने भन्दे लामाले भने, ‘म भए ठिक छ, अरु भए ठिक हुँदैन भन्ने मान्यता बढ्दै गएको छ ।’
केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कांग्रेसलाई अघि बढाउने हो भने अब युवापुस्तालाई आकर्षित गर्न सक्नुपर्ने धारणा राखे । ‘ युवाहरुलाई कसरी तान्ने ? युवा जमातलाई कसरी बलियो बनाउने ? यो महत्वपूर्ण कुरा छ ,’ उनले भने ।
उनले पद खल्तीबाट झिकेर दिन नहुने भन्दै खल्तीबाट पद बाँडिदा संगठन चकनाचुर हुने पनि बताए । लामाले भने, ‘ आफ्नाे विचारले खल्तीबाट झिकेर युवालाई पद दिने होइन । पद दिँदा विधान परिधी छ, कार्यान्वयन गर्नुपर्छ भन्छौँ । तर, खल्तीबाट झिकेर बनाउनेतिर जाँदै छौँ । सबैले खल्तीबाट दिँदा निषेध हुन्छ । संगठनप्रति बफादार छ कि छैन ?´कांग्रेस केन्द्रीय कार्यालयमा हिजोबाट शुरु बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।