काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरू हुने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको हो।
यी हुन् एजेन्डा
सोमबार बेलुकी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेकाे पदाधिकारी बैठकले एजेन्डा तय गरेकाे छ । बैठकले केन्द्रीय समितिमा छलफल गरिने मोटामोटी एजेन्डा तय गरेको छ ।
यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदनका लागि पेश गर्ने तयारी छ। केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने विधानको व्यवस्था छ।
कांग्रेसले गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठक गरेको थिएन। एक वर्ष अवधिमा कार्यसम्पादन समितिले गरेका निर्णय केन्द्रीय कार्यसम्पादनमा अनुमोदनका लागि पेश गरिन्छ।
नीति अधिवेशनको मिति र स्थान तय गर्ने एजेन्डामाथि पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
कांग्रेसले दसैंअघि नीति अधिवेशन गर्ने तयारी गरेको छ। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन।
संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
साथै राष्ट्रव्यापी अभियानबारे पनि छलफल गर्ने कांग्रेसको तयारी छ। संगठन सुदृढीकरणका लागि देशैभर अभियान सञ्चालन गर्ने कांग्रेसकाे तयारी छ।
चुनावी समीक्षा, प्रदेश र केन्द्र सरकारका कामकारबाहीलगायत विभिन्न विषयमा पनि छलफल हुने गरी केन्द्रीय कार्यसमिति बैठक गर्न लागिएको छ ।

