काठमाडौं । विकास निर्माणका दर्जनौँ योजनामा पहलदेखि सामाजिक सेवासम्म सक्रिय रहँदै आएकी नेपाली कांग्रेसकी नेतृ यस्मिन ढुंगाना १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला खुला) पदका लागि मैदानमा उत्रिएकी छन् । महाधिवेशन प्रतिनिधिमा उल्लेख्य मतसहित निर्वाचित भएकी ढुंगानाले जिल्लामा गरेको राजनीतिक तथा सामाजिक सक्रियतालाई केन्द्रीय जिम्मेवारीसँग जोड्ने लक्ष्यसहित उम्मेदवारी प्रस्तुत गरेकी हुन् ।
सिन्धुपाल्चोकलाई आफ्नो राजनीतिक कार्यक्षेत्र बनाउँदै आएकी ढुंगानाले विकास निर्माण, सामाजिक सेवा र महिला सहभागितालाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेकी छन् ।
सिन्धुपाल्चोकको विकास निर्माणका विभिन्न योजनामा पहल गर्दै आएकी ढुंगाना स्थानीय तहमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार विकासका विषयमा सक्रिय रहँदै आएकी छन् । उनको पहलमा जिल्लाका विभिन्न क्षेत्रमा दर्जनौँ विकास आयोजना अघि बढेको स्थानीयस्तरमा चर्चा हुने गरेको छ । विकाससँगै सामाजिक सेवामा समेत सक्रिय रहेकी ढुंगानाले स्थानीय नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्दै आएकि छन् ।
पार्टी संगठनमा समेत सक्रिय ढुंगाना नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट खुला महिला क्लस्टरतर्फ लाेकप्रिय मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा महिला क्लस्टरतर्फ उनी सबैभन्दा बढी मत प्राप्त गर्ने प्रतिनिधि बनेकी थिइन् ।
महाधिवेशन प्रतिनिधिमा उल्लेख्य मतसहित निर्वाचित भएपछि ढुंगानाले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने, महिलाको राजनीतिक सहभागिता र प्रतिनिधित्व प्रभावकारी बनाउने तथा पार्टीलाई जनतासँग अझ नजिक बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएकी छन् ।
ढुंगानाले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेकी छन् । विकास निर्माणसँगै सामाजिक क्षेत्रमा बनाएको आफ्नो सक्रियतालाई पार्टीको केन्द्रीय भूमिकासँग जोड्ने उनको तयारी छ ।




