विश्वप्रकाश शर्मा / निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियालाई मात्रै अबको दुनियाँमा उन्नत लोकतन्त्रका रूपमा परिभाषित गर्न सकिन्न। ‘हाउ डेमोक्रेसी डाइज्’ मा हार्वर्ड युनिभर्सिटीका विख्यात दुई विद्वान् लेख्छन् – लोकतन्त्र मर्न सक्छ, तर सैनिक जर्नेलको बन्दुकबाट होइन, निर्वाचित नेतृत्वको हातबाट। निस्सन्देह मुलुकको कानुन, विधि र संस्थाहरूको मर्यादा राखिएन भने, न्यायपालिका, व्यवस्थापिका र स्वतन्त्र प्रेसको मर्यादा भत्काइयो भने बुझ्नुपर्छ– लोकतन्त्रको अस्थिपञ्जर मात्रै बाँकी रहन्छ।
विश्वव्यापी रूपमा यो चिन्ता र विश्लेषण जुन गरिँदै आइएको छ, त्यसलाई आजको नेपालको वस्तुगत स्थितिको इमानदार समीक्षासाथ जननिर्वाचित सरकार र जिम्मेवार प्रतिपक्षले एकसाथ गहिरो मनन गर्न जरुरी छ। प्रक्रियासँगै प्रवृत्ति प्रधान हुन्छ भन्ने हेक्का हामी सबैथरी दल र सबै राजनीतिज्ञले गहिरोसँग राख्न जरुरी छ। जेन(जी विद्रोहपछि नेपाली समाजको अपेक्षा यो सन्दर्भमा अझै बलियोसँग बदलिएको छ। हामी स्पष्ट हुनुपर्छ– देखिने प्रक्रियामा भन्दा भोगिने प्रवृत्तिमा लोकतन्त्र बढी अनुभूत हुन सक्नुपर्छ।
अन्यथा लोकतान्त्रिक संस्कृतिबेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र बन्न पुग्छ। त्यसको मूल्य लोकतन्त्रको गर्भबाट जन्मिने अलोकतान्त्रिक प्रवृत्तिले त चुकाउनुपर्छ नै, अन्ततः ढिलोचाँडो त्यसले समग्र देशको खुसी, शान्ति र अग्रगतिलाई गम्भीर असर पुर्याउँछ।
नेपाली कांग्रेस लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई निरस प्रक्रिया मात्रै बन्न नदिन दृढ प्रतिबद्ध छ। आज प्रतिपक्षको र भोलि सरकारको नेतृत्वमा पुग्दा यो प्रतिबद्धतालाई दृढ ढङ्गले आत्मसात् गरिरहन र व्यवहारमा उतार्न कांग्रेस सङ्कल्पबद्ध छ।
लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’
सामान्यतया ‘मान्छेको मूल्य’ सुन्दै गर्दा अनौठो या असाधारण शब्दावली लाग्न सक्छ। तर जब सत्ताले अनधिकृत या वैधानिक ढङ्गले नै सही, कुनै कदम चाल्दा मानवीय प्रश्नलाई गौण र कानुनका चिसा अक्षरलाई प्रधान ठान्न पुग्छ, तब मान्छेको मूल्यको प्रश्न बेजोड ढङ्गले उठ्छ नै। बीपी कोइरालाको दर्शनले सदैव ‘मान्छे’ लाई केन्द्रमा राख्यो। कम्युनिस्ट दर्शनसँग लोकतान्त्रिक मूल्यको गम्भीर विमतिको सार पनि त्यही थियो।
फागुन २१ पछि बनेको सरकारलाई सुकुम्बासी व्यवस्थापनको प्रश्नमा संयमतासाथ कार्य गर्न सबै दलको एकबद्ध समर्थन जुट्न सक्दथ्यो। तर नयाँ सरकारको नेतृत्वमा ‘पुरानो आवेग’ हावी रहँदा, त्यसले मध्यबर्खामा बालबालिका, वृद्धवृद्धा, सुत्केरी कसैको पनि मानवीय संवेदनशीलता ख्याल नगरी उठिबास लगायो।
हुनसक्छ तीमध्ये कयौँको बसाइ वैधानिक थिएन, तर त्यसो भनिरहँदा ती प्रत्येक मान्छेको जन्म र जिन्दगी अवैधानिक पक्कै थिएन। ‘मान्छेको मूल्य’ को प्रश्न त्यसैले यहाँनेर उठ्छ र जबर्दस्त ढङ्गले उठ्छ। हो, लोकतन्त्रले निश्चित रूपमा बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अदना नागरिकले माइतीघर मण्डलमा उभिएर ‘मलाई अन्याय भयो सरकार’ भन्ने प्लेकार्ड देखाउँदा ‘राज्यले सुन्यो कि सुनेन’ त्यो हेर्छ।
परम्परागत परिभाषामा ‘लोकतन्त्र भन्नु बोल्ने अधिकार’ थियो, आजको समयमा ‘बोलेको सुनियो कि सुनिएन, सुनुवाइ भयो कि भएन’ लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। अर्थात् लोकतान्त्रिक संस्कृतिमा ‘मान्छेको मूल्य’ अनमोल हुन्छ र यो निर्वाचनमा पाइने ‘मान्छेको भोट’ भन्दा प्रधान हुन्छ। अस्थायी भोटको तागतमा, स्थायी मान्छेको अवमूल्यन लोकतान्त्रिक संस्कृतिको कुनै पनि कोणबाट जायज ठहर्दैन।
नेपाली कांग्रेस लोकतन्त्रको केन्द्रमा सदैव नागरिक सम्प्रभुतालाई राख्नु लोकतान्त्रिक संस्कृतिको आधारभूत सौन्दर्य मान्दछ। नागरिकको वैयक्तिक मर्मलाई संवेदनशील ढङ्गले सम्बोधन गर्न कांग्रेस सदैव प्रतिबद्ध रहनेछ।

राजनीतिप्रति पछिल्लो पुस्ताको प्रश्न र विश्वास
२०७२ मा नयाँ संविधान बनेपछिको उर्वर दशकमा उन्नत ढङ्गले सत्ता सञ्चालन र समुन्नतिको यात्रामा नवीन ‘डिपार्चर’ को अवसर गुमेपछि, त्यही अवधिमा हुर्किएको पछिल्लो पुस्ता राजनीतिप्रति गम्भीर ढङ्गले विकर्षित हुन पुग्यो। राजनीतिलाई पद र शक्तिको खेलका रूपमा मात्र अनुभव गर्ने स्थिति भोगेपछि लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गयो। विश्वास कमजोर भएपछि आफ्नो गाउँ-समाजमा भएको प्रगति र आफ्नो व्यक्तिगत जीवनले लोकतान्त्रिक पद्धतिका कारण प्राप्त गरेको थोरबहुत लाभ पनि उसले देख्न छोड्यो। जब प्रधानमन्त्री पदको म्युजिकल चेयरको आलोपालो चल्यो, त्यो दृश्यले निराश भएको युवामाझ ३५ वर्षमा देशमा केही भएनू भन्ने भाष्य जबर्दस्त ढङ्गले भर्न संसदीय लोकतान्त्रिक प्रणालीका विपक्षीहरूलाई सफलता मिल्यो। विद्रोहमा हजारौँ युवालाई गाँस्न यो भाष्यले महत्त्वपूर्ण भूमिका निभाएको थियो। २०८२ भदौको त्यो विद्रोहमा जीवन गुमाएका युवा र अन्यप्रति कांग्रेस १५औँ महाधिवेशनको यो बन्द सत्र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। त्यो विद्रोहमार्फत युवाहरूले व्यक्त गरेको अपेक्षा सम्बोधन गर्ने दिशामा इमानदार ढङ्गले कर्म गर्ने प्रतिबद्धता दोहोर्याउँदछ।
पछिल्लो पुस्ताले नियमित रूपमा उठाउने प्रश्नको नियमित सम्बोधनले मात्रै तिनको विश्वासलाई राजनीति र राज्यप्रणालीसँग निरन्तर जोड्न सकिन्छ भन्ने तथ्यलाई सबै राजनीतिक दल र सरकारले गम्भीर हेक्का राख्न जरुरी छ।
प्रतिवेदनमा उल्लेख मुख्य बुँदाहरू
निर्वाचित नेतृत्वबाटै लोकतन्त्रको अन्त्य : लोकतन्त्र अब विगतजस्तो सैनिक कु वा सैनिक जर्नेलको बन्दुकबाट मात्र मर्दैनस बरु जननिर्वाचित नेतृत्वले नै कानुन, विधि र संस्थाहरूको मर्यादा भत्काएर लोकतन्त्रको हत्या गर्न सक्छन् भन्ने विश्वव्यापी चिन्तालाई उनले उजागर गरेका छन्।
संस्थाहरूको मर्यादा रक्षा : न्यायपालिका, व्यवस्थापिका र स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारस्तम्भहरूको मर्यादा राखिएन भने लोकतन्त्रको बाहिरी ढाँचा (अस्थिपञ्जर) मात्र बाँकी रहन्छ।
प्रक्रियाभन्दा प्रवृत्ति प्रधान : केवल निर्वाचन हुनु र सरकार चुनिनु मात्रै उन्नत लोकतन्त्र होइन। देखिने प्रक्रियाभन्दा नागरिकले भोग्ने लोकतान्त्रिक प्रवृत्ति र संस्कृति मुख्य हुन्छ।
सत्ता र नागरिकको मूल्य ९मानवीय संवेदनशीलता : बहुमतको आडमा वा वैधानिक कानुनका चिसा अक्षर देखाएर मानवीय संवेदनशीलतालाई उपेक्षा गरिनु हुँदैन। जननिर्वाचित सरकारले साना र असहाय नागरिकका आवाज सुन्नुपर्छ :भोटु भन्दा मान्छेको मूल्यु प्रधान हुनुपर्छ।




