सविन शर्मा ढकाल / नेपाली कांग्रेसले आफूलाई ‘बदलिएको कांग्रेस’का रूपमा प्रस्तुत गरिरहेका बेला पार्टीको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहमा भइरहेको प्रतिनिधि छनोटले भने आन्तरिक लोकतन्त्र र युवाको सहभागितामाथि प्रश्न उठाएको छ।

विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति बनेपछि कांग्रेसले नेतृत्व पुस्तान्तरण, नयाँ राजनीतिक संस्कार र आन्तरिक लोकतन्त्रलाई आफ्नो परिवर्तनको मुख्य आधारका रूपमा अघि सारेको छ। तर, महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विभिन्न जिल्लामा देखिएका विवादले केन्द्रको भाष्य र स्थानीय तहको अभ्यासबीच दूरी देखाउन थालेको छ।

यसको पछिल्लो उदाहरणका रूपमा काभ्रे–२ को घटनालाई लिन सकिन्छ। विषय विज्ञतर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका इन्जिनियर विजय गौतमले उम्मेदवारी दर्ता गरेर प्रचार–प्रसारसमेत गरिसकेपछि निर्वाचन प्रक्रिया रोकिएको र उम्मेदवारको अन्तिम सूचीसमेत सार्वजनिक नगरिएको आरोप लगाएका छन्। गौतमले आफूले विधिवत् शुल्क बुझाएर उम्मेदवारी दिएको, गाउँ–गाउँबाट मतदाता आएको तर अन्तिम समयमा निर्वाचन नै रोकिएको दाबी गरेका छन्। उनले घटनालाई ‘अधिवेशन हाइज्याक’ गरिएको बताए ।

कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था छ। यसपटक केन्द्रीय तहका नेतासमेत वडा हुँदै क्षेत्रीय प्रतिनिधिको प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था लागू गरिएको छ।

यही प्रक्रियाबाट कांग्रेसका शीर्ष नेताहरू भने फरक–फरक ढंगले प्रतिनिधि बनेका छन्। सभापति गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भए। महामन्त्री प्रदीप पौडेल पनि काठमाडौं–५ बाट सर्वसम्मत भए। उपसभापति विश्वप्रकाश शर्मा भने झापा–१ बाट मतदानमार्फत निर्वाचित भए। शर्माले ७१० मतदातामध्ये ६३८ मत प्राप्त गरेको विवरण सार्वजनिक भएको छ।

अर्थात्, केन्द्रका प्रमुख नेताहरूले प्रतिनिधि बन्ने अवसर पाए- कसैले प्रतिस्पर्धाबाट, कसैले सर्वसम्मतिबाट। तर, यही अवसर तल्लो तहका धेरै आकांक्षी युवाले समान रूपमा पाए कि पाएनन् भन्ने प्रश्न अहिले कांग्रेसभित्र उठ्न थालेको छ।

काभ्रे–२ मा विजय गौतमको प्रसंग त्यसैको एउटा उदाहरण हो। प्रविधि क्षेत्रमा लामो अनुभव भएका गौतमले आफूले निर्वाचन प्रक्रियामै सहभागी भएर प्रतिनिधि बन्न खोज्दा प्रक्रिया रोकिएको भन्दै यसलाई अलाेकतान्त्रिक शैली भनेका छन् । उम्मेदवारी दर्तापछि निर्वाचन नै नहुनु वा प्रक्रिया विवादमा पर्नुले कांग्रेसले दाबी गरेको नयाँ राजनीतिक संस्कारमाथि प्रश्न भने उठाएको छ।

दोलखामा पनि युवा पुस्ताको प्रतिनिधित्वलाई लिएर चासो बढेको देखिन्छ। महाधिवेशन प्रतिनिधिका आकांक्षी युवाहरूले सहमतिका नाममा भएकाे गतिविधिमा प्रश्न उठाएका छन् । अधिवक्तासमेत रहेका पुष्प खड्काले फेसबुकमै असन्तुष्टी जनाएका छन् । `वडा-वडाबाट चुनिएर आएका क्षेत्रीय प्रतिनिधिहरूलाई कहिले `आज चुनाव हुन्छ, कहिले सहमति हुन्छ´ भन्दै ‘सहमति’को बहाना बनाएर निरन्तर गुमराहमा राखियो। अन्त्यमा, उम्मेदवारहरूबीच कुनै संवाद नै नगरी आफूखुशी ‘सर्वसम्मत’ भएको स्वघोषणा गरियो, त्यस अवैधानिक नतिजा पूर्णरुपेण अस्वीकार्य छ´,
दाेलखाका कांग्रेस युवा नेता पुष्प खड्का भन्छन् ।

यसैबीच, दोलखामा विभिन्न समूहले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी गर्दै दोलखामा कुन्दनराज काफ्लेलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। उता दैलेखमा सहमतिमा असहमति जनाउँदै कार्यालयमा तालाबन्दी गरिएकाे छ । विभिन्न जिल्लामा सहमतिकाे नाममा नेतृत्व र उनका निकटस्थ सुरक्षित महाधिवेशन प्रतिनिधि बनाउन जवर्जस्ती सहमति गराइएकाे र लाेकतान्त्रिक अभ्यासमै जान नदिएकाे गुनासाे यतिबेला सामाजिक सञ्जालमै छताछुल्ल बनिरहेकाे छ ।

यस्तो अवस्थामा ‘बदलिएको कांग्रेस’को वास्तविक परीक्षा केन्द्रीय नेतृत्वमा मात्र होइन, वडा, पालिका र क्षेत्रीय अधिवेशनमा हुने देखिन्छ। नेतृत्वले आफूलाई परिवर्तनको प्रतीकका रूपमा स्थापित गर्न खोजे पनि कार्यकर्ताले आफूलाई उम्मेदवार बन्न, प्रतिस्पर्धा गर्न र निर्वाचित हुन समान अवसर पाएनन् भने परिवर्तनको दाबी अधुरो देखिन सक्छ।

कांग्रेसको आधिकारिक वेबसाइटमै अहिले ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सन्देश अघि सारिएको छ।

तर प्रश्न यहीँ छ—कांग्रेस साँच्चिकै बदलिएको हो भने परिवर्तनको अनुभूति केन्द्रमा मात्र हुने कि वडा र क्षेत्रीय अधिवेशनमा उभिएको सामान्य युवा कार्यकर्ताले पनि गर्ने ?

विश्वप्रकाशले चुनाव लडेर जिते। गगन र प्रदीप सर्वसम्मत भए। उनीहरूले प्रतिनिधि बन्ने अवसर पाए। अब कांग्रेसका लागि चुनौती यति हो—त्यही अवसर अरू युवाले पनि पाएका छन् कि छैनन् ।

यदि तल्लो तहमा प्रतिस्पर्धाको ढोका बन्द गरेर सहमति, समूहगत भागबन्डा वा प्रभावका आधारमा प्रतिनिधि छनोट गरियो भने ‘बदलिएको कांग्रेस’को नारा र अधिवेशनको व्यवहारबीच विरोधाभास देखिनेछ।

त्यसैले अहिले कांग्रेसको महाधिवेशन केवल नेतृत्व चयनको अभ्यास होइन, पार्टीभित्रको लोकतन्त्र कति व्यवहारमा लागू भयो भन्ने परीक्षण पनि हो।

काभ्रे–२ मा विजय गौतमले उठाएको प्रश्न र दोलखालगायत जिल्लामा युवा आकांक्षीहरूले खोजिरहेको अवसरको उत्तर कांग्रेस नेतृत्वले प्रक्रियाबाटै दिनुपर्ने देखिन्छ।

किनकि लोकतन्त्रको असली परीक्षा नेता सर्वसम्मत हुने वा चुनाव जित्नेमा मात्र होइन साधारण कार्यकर्ताले पनि चुनाव लड्न पाउने अधिकार कति सुरक्षित छ भन्नेमा हुन्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको