काभ्रे — नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया विवादमा परेको छ। विषय विज्ञतर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका इञ्जिनियर विजय गौतमले उम्मेदवारी दर्ता र प्रचार–प्रसारपछि निर्वाचन प्रक्रिया नै रोकिएको भन्दै अधिवेशनको प्रक्रिया ‘हाइज्याक’ गरिएको आरोप लगाएका छन्। उसो त अहिले कांग्रेसभित्र गगन युग शुरु भएको भन्दै कांग्रेसले विशेष महाधिवेशनपछि आफू बदलिएको भाष्य स्थापित गर्न खोजिरहेको छ । तर, काभ्रे २ को अधिवेशनले आफ्नै बदलिएको कांग्रेसमाथि नबदलिएकाे पुरानै शैली भारी परेको छ ।

अमेरिकाको प्रतिष्ठित एप्पल कम्पनीमा सात वर्ष इञ्जिनियरका रूपमा काम गरेर नेपाल फर्किएका गौतमले सोमबार निर्वाचन समितिले उम्मेदवारी दर्ता गराए पनि हालसम्म उम्मेदवारको सूचीसमेत सार्वजनिक नगरेको बताए। उनका अनुसार उम्मेदवारी दर्तापछि मतदाताले गाउँ–गाउँबाट आएर उत्साहपूर्वक प्रचारमा सहभागिता जनाएका थिए ।तर, निर्वाचनको तयारी भइरहेका बेला अचानक सहमतिको प्रयास र गोलाप्रथाको विकल्प अघि सारिएको भन्दै उनले आपत्ति जनाएका छन्।

‘चुनावमा उठियो। उम्मेदवारी राखियो। भोट मागियो। गाउँ–गाउँबाट उत्साहका साथ मतदाता आए। शुल्क बुझाएर विधिवत् मनोनयन पनि गरियो। त्यसपछि के भएन ? उम्मेदवारको सूची नै आएन, चुनाव नै भएन,’ गौतमले भने। सभापति गगन थापाको सहमतिमै महाधिवेशन प्रतिनिाधि ल्याउनु भन्ने स्पष्ट निर्देशन छ भन्दै अधिवेशननै हाइज्याक गरिएको उनले बताए ।

उनका अनुसार अधिवेशन उद्घाटनका क्रममा सहमति जुटाउन पाँच सदस्यीय समन्वय समिति गठन गरिएको थियो। तर, उक्त समितिले महाधिवेशन प्रतिनिधिका आकांक्षी आफूहरुसँग अहिलेसम्म छलफल गरेको उनले बताए।

‘अब आयो नयाँ अध्याय—सहमति रे। अनि अर्को विकल्प—गोलाप्रथा रे,’ गौतमले भने, ‘मत माग्ने बेला लोकतन्त्र, मत हाल्ने बेला जनताको उत्साह, मनोनयन गर्दा विधि र प्रक्रिया, अनि अन्तिममा चाहिँ सहमति कि गोलाप्रथा ? ’

गौतमले निर्वाचन प्रक्रिया पूरा नगरी सहमतिको नाममा प्रतिनिधि चयन गर्ने प्रयास आफूलाई स्वीकार्य नहुने बताएका छन्। उनले सहमति नहुँदा प्रतिस्पर्धाबाट हुने निर्वाचनको विकल्प नरहेको र अन्य बाटोबाट प्रतिनिधि बनाइएपनि अस्विकार गर्ने उनले बताएका छन् । उनले भने, ‘लोकतन्त्रमा हार–जित स्वाभाविक हो। तर हार्ने डरले प्रतिस्पर्धाकै ढोका बन्द गर्ने संस्कार चाहिँ लोकतन्त्रका लागि गम्भीर प्रश्न हो।’
तमले अधिवेशनको प्रक्रिया पारदर्शी बनाउन उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरी निर्धारित विधिअनुसार निर्वाचन गराउनुपर्ने मागसमेत गरेका छन्।

काभ्रे–२ मा महाधिवेशन प्रतिनिधि चयनका विषयमा देखिएको विवादले कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यास र अधिवेशन व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ। प्रविधि क्षेत्रमा लामो अनुभव हासिल गरेका गौतम विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलमा इन्फर्मेशन सेक्युरिटी आर्किटेक्टका रूपमा कार्यरत रहिसकेका छन्। त्यसअघि उनले क्वालकममा समेत काम गरेका थिए। नेपाल फर्किएपछि शिक्षा, गृह, सञ्चार तथा भौतिक पूर्वाधारलगायत विभिन्न मन्त्रालयअन्तर्गतका सरकारी सल्लाहकार तथा अध्ययन समितिमा समेत संलग्न भएको उनले बताएका छन्। महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारीसँगै गौतमले पार्टीको विधान र संगठनात्मक संरचनामा समयसापेक्ष सुधारलाई मुख्य एजेन्डा बनाएका छन्। अधिवेशमा देखिएको अलोकतान्त्रिक शैलीले भने गौतम असन्तुष्ट देखिएका छन् ।

अधिवेशनको प्रक्रियालाई लिएर काभ्रे २ कै युवा नेता सुजन भण्डारीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । ‘सबैले चासोका साथ सोधिरहनुभएको छ—चुनाव के भयो ? तर म जवाफ दिन लाचार छु। कांग्रेसको कार्यकर्ता भएर मैले कसरी भनूँ—सिमित नेतृत्व बसेर गोला प्रथामार्फत पद बाँडफाँड भयो भनेर ? ,’ उनले सामाजिक सञ्जालमै लेखेका छन्,‘ केन्द्रको राजनीति गर्छु भन्नेहरू आफ्नै भूगोलमा, आफ्नै कार्यकर्तासँग लोकतान्त्रिक प्रतिस्पर्धा गर्न डराउँछन् भने भोलि जनताको बीचमा गएर लोकतन्त्र, निर्वाचन र परिवर्तनको कुरा कसरी गर्न सकिन्छ ? सहमतिको नाममा भएको निषेधको राजनीतिप्रति मेरो पूर्ण असहमति छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको