काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल कम्तीमा ३ सय बेडको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।

उनले विश्वविद्यालय सञ्चालनका लागि अस्पताल नै मुख्य आधार भएकाले यसको क्षमता विस्तार नगरी एमबीबीएस पठनपाठन सुरु गर्न नसकिने स्पष्ट पारे। पौडेलका अनुसार प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालसँग गाभेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा अस्पताल सञ्चालन गर्न सकिने अवस्था छ।

पौडेलले आफू स्वास्थ्य मन्त्री रहँदा गेटा अस्पताल सञ्चालन तथा एमबीबीएस पठनपाठन सुरु गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको स्मरण गराउँदै त्यसबेला पनि केही पक्षले वस्तुस्थिति नबुझी विरोध गरेकाले योजना अघि बढ्न नसकेको उल्लेख गरेका छन्। उनका अनुसार अस्पतालको क्षमता विस्तार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण तयारी त्यसबेला नै गरिएको थियो।

उनले हाल डा. गोविन्द के.सी.ले गेटा अस्पताल शीघ्र सञ्चालनको माग राख्दै थालेको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको बताएका छन्। तर, विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप छ।

पौडेलले गेटा अस्पताललाई तत्काल ३०० बेडको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र उचित विकल्प भएको उल्लेख गर्दै यसो नगरे विश्वविद्यालयको औचित्य पुष्टि हुन नसक्ने र एमबीबीएस पठनपाठनसमेत सुरु हुन नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको