दाङ : लुम्बिनी लुम्बिनी प्रदेशका १०८ स्थानीय तहमध्ये छनोट भएका ८ उत्कृष्ट नवप्रवर्तन साझेदारी परियोजनामध्ये छत्रदेव गाउँपालिकाको ‘स्मार्ट शिक्षा परियोजना’ सफलतापूर्वक छनोट भएको छ। यसका लागि गाउँपालिकाले दुई चरणमा परियोजना प्रस्ताव पेस तथा प्राविधिक प्रस्तुतीकरण सम्पन्न गरेको थियो।
परियोजनाअन्तर्गत पहिलो चरणमा सामुदायिक विद्यालयका कक्षा ५ र कक्षा ८ लाई स्मार्ट कक्षाका रूपमा विकास गरिनेछ । यस क्रममा स्मार्ट बोर्ड जडान, इन्टरनेट सेवा विस्तार, डिजिटल शिक्षण–सिकाइ सामग्री विकास तथा शिक्षक क्षमता विकास तालिम सञ्चालन गरिनेछ । परियोजना २०८३ फागुन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
परियोजनासम्बन्धी नतिजामा आधारित द्विपक्षीय सम्झौतापत्रमा छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल तथा पिएलजीएसपी लुम्बिनी प्रदेश कार्यक्रम संयोजक मैयादेवी कुमालले हस्ताक्षर गरेका छन् । सम्झौता लुम्बिनी प्रदेश सरकारका प्रदेश सचिव तथा छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीको रोहवरमा सम्पन्न भएको हो। यो परियोजना पहिलो चरणको सुरुआत मात्र हो । प्राप्त अनुभव र उपलब्धिका आधारमा क्रमशः गाउँपालिकाका सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने गाउँपालिकाको दीर्घकालीन लक्ष्य रहेको छ।




